कम्युनिष्ट पार्टीको अगुवाईमा समाजवादको यात्रा– प्रधानमन्त्री

833
views

काठमाडौँ, १६  जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको छ । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको “माक्र्सवाद र समाजवाद” विषयक दुई दिने अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताउनुभयो ।

उहाँले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वाेच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गर्नुभयो ।

विश्व पूँजीवादले नवउदारवादलाई नियन्त्रण गर्न नसकी संकटमा परिरहेको सन्दर्भमा समाजवादी यात्राको विकल्प नभएको तर कम्युनिष्टहरुले सामाजिक र राष्ट्रिय परिवेशका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले माक्र्सवादको प्रभावका कारण सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रबन्धमा विश्वमा सकारात्मक प्रभाव परेको तथा एक्काइसौँ शताब्दीमा पनि माक्र्सवाद उत्तिकै सामयिक विज्ञानका रुपमा रहेको बताउनुभयो ।
सही रणनीतिसहित समाजवादतर्फ- ‘प्रचण्ड’
सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले हासिल गरेको नेपालमा हालैको निर्वाचनको जनमत र त्यसपछि दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता सही रणनीतिका साथ जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसर रहेको बताउनुभयो ।

उहाँले जनताको चाहना बमोजिम स्थिरता र सुशासनका लागि अहिलेको सरकारले काम गर्दै पार्टी्भित्र र बाहिरको लोकतन्त्रमा सुधार गरेर समाजवादको यात्रामा जानुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “माक्र्सवाद एक विज्ञान हो, यसलाई आफ्ना राष्ट्रिय परिवेशका सन्दर्भमा प्रयोग गरेर समाजवादको यात्रामा अगाडि जान नसकिए जनताको चाहनालाई पूरा गर्न नसकिने विश्व इतिहासका सिकाइलाई आत्मसात् गरेर सजगताका साथ अघि बढ्न आवश्यक छ ।”
माक्र्सवादलाई समाज विज्ञानको दर्शन–नेपाल
नेकपाका वरिष्ठ नेता एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले विश्वका सबै कम्युनिष्ट र समाजवादी तथा विरोधी धारमासमेत माक्र्सवादलाई समाज विज्ञानको दर्शनका रुपमा लिएको बताउँदै अहिले पनि सो दर्शन उत्तिकै सामयिक रहेको छ भन्नुभयो ।

उग्रपन्थी र दक्षिणपन्थी दुबै माक्र्सवादका लागि हानिकारक–केसीराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उग्रपन्थी र दक्षिणपन्थी दुबै माक्र्सवादका लागि हानिकारक भएको उल्लेख गर्दै उत्पादनका साधनमा स्वामित्व विस्तार नगरी समाजवादमा जान नसकने बताउनुभयो ।

सम्मेलनमा चीन, भारतलगायत विश्वका करीब १५ मुलुकका समाजवादी, कम्युनिष्ट र श्रमिक पार्टीका प्रतिनिधि सहभागी छन् ।