यादव स्वास्थ्य र राईन शहरीविकास मन्त्री

1264
views

काठमाडौँ,१८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त भएका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गरेकी छन् । नवनियुक्त मन्त्रीहरुले आजै शीतल निवास बालुवाटारमा सपथ ग्रहण गर्नेछन् ।

गत जेठ १४ गते सत्तारुढ दल संविधान संशोधन गर्न तयार भएपछि प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादववीच २ बुँदे सहमति भएको थियो ।सहमतीपछि फोरम सरकारमा सहभागि हुन राजी भएको थियो ।