शिक्षण अस्पतालमा मानव अङ्गबाट बायो ग्याँस

1518
views

काठमाडौं, १९ असार । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मानव अङ्गबाट बायो ग्याँस निकालिएको छ । परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो ।

न्युरो, सर्जिकल, अति सघन कक्ष (आइसीयू) र मृगौला रोगसँग सम्बन्धित (नेफ्रो वार्ड) बाट निस्कने रगतजन्य फोहोर, शल्यक्रियाका क्रममा निस्कने शरिरका विभिन्न अङ्गहरुलाई अलग्गै संकलन गरि बायो ग्याँस निकालिएको हो ।

बायो ग्याँसका लागि मानव अङ्गका अतिरिक्त फ्याँकिएका खानेकुरा र कुहिने फोहोरलाई प्रयोग गरिएको छ । यहाँ उत्पादित ग्याँस अस्पतालको भान्सामा प्रयोग गरिएको छ भने पानी तताएर प्रशोधन गर्ने काममा समेत सदुपयोग गरिएको छ ।

अस्पतालजन्य फोहोरको संक्रमणको जोखिम अत्यधिक रहन्छ । शिक्षण अस्पतालको नयाँ प्रयोगलाई अन्य अस्पतालले पनि पछ्याउनु जरुरी देखिन्छ ।

शिक्षण अस्पतालले बायो ग्याँस उत्पादन नगर्दासम्म अस्पतालको फोहोर काठमाडौ महानगरपालिकालाई बुझाइन्थ्यो जुन खुलम खुल्ला टेकुको संकलन केन्द्र हुँदै डम्पिङ साइट औखरपौवासम्म पुग्थ्यो ।

फोहोर जलाउँदा निस्कने धुवाँले वातावरण प्रदूषण हुने र महानगरपालिकाले ओखरपौवामा फाल्ने फोहोरमा कहिलेकाँही सुई र संक्रमित फोहोर मिसिदा थप जोखिम बढ्ने गरेको थियो ।