काठमाडौं, २०, असार । गएराती रुसको मस्कोस्थित स्पार्टाक एरिनामा भएको भएको विश्वकप फुटबलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा हराउँदै इङ्गल्याण्ड क्वाटरफाईनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट १–१ गोल भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ५७ औं मिनेटमा इंग्ल्याण्डले अग्रता लियो । ५७ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा बदल्दै ह्यारी केनले टोलीलाई अग्रता दिलाएका हुन् । केनको यो गोल रुसमा जारी विश्वकपमा छैटौं गोल हो । उनी सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा शिर्ष स्थानमा रहेका छन् ।
१–० ले पछि परेको कोलम्बियाले ईन्जुरी समयमा खेल बराबरी गर्यो । हुँवा क्वाड्राडोको पासमा यरी मिनाले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् ।
मिनाको यो गोल जारी विश्वकपमा तेस्रो हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुग्यो ।
अतिरिक्त समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा कोलम्बियालाई ४–३ ले हराउँदै इङ्गल्याण्ड विजयी भयो ।
इङ्गल्याण्डका ह्यारी केन, मार्कस रास्फोर्ड, किरन ट्रिपर र एरिक डायरले गोल गर्दा जोर्डन हेन्डर्सनको प्रहार विफल भयो ।
यसैगरी कोलम्बियाको लागि राडामल फाल्काओ, हुँवा क्वाड्राडो र लुईस मुरिएलले गोल गर्दा म्याटियास उराईब र कार्लोस बाक्काको प्रहार बिफल भयो ।
जितसँगै इंग्लण्डले युरोपेली प्रतिद्धन्दी स्विडेनविरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ ।
उता पराजित टोली कोलम्बिया भने राउण्ड अफ सिक्सटिनबाटै घर फर्किने तेस्रो लेटिन अमेरिकी टोली बनेको छ ।
यसअघि अन्य दुई लेटिन अमेरिकी टोली अर्जेन्टिना र मेक्सिको पनि यही चरणबाट बाहिरिएका थिए ।