सरकार विरुद्ध काँग्रेस सडकमा

सरकारले हरेक क्षेत्रमा कर आतंक मच्चाएको आरोप

920
views

काठमाडौ, १५, साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध सडकमा देखिएको छ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको आरोअप लगाउँदै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डालाई प्राथमिकता बनाएको छ ।

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी शैलीका विरुद्ध आज एक दिन विरोध गर्न लागिएको बताए ।

‘संबैधानिक व्यबस्था अनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने, अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनुपर्ने, संबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, बिधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने मुद्धा उठाएका छौँ ।” महतले भने ।

त्यसैगरी पुर्ववर्ती देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाईने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैया जीविकोपार्जन भत्ता दिने र भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने माग पनि काँग्रेसले अघि सारेको उनले छ ।

संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा तत्कालीन सरकारले जारी गरेको अध्यादेशमा भएको व्यवस्थालाई समावेश गर्न दवाव दिन पनि काँग्रेसले खवरदारी गर्नेछ ।

त्यसैगरी प्रदेशको नामाकरण तथा स्थायी राजधानीको बारेमा तत्काल निर्णय गर्न पनि काँग्रेसले सडक र सवै प्रदेश सभाबाट दवाव दिने भएको छ ।

काँग्रेसले सरकारले हरेक क्षेत्रमा करको आतंक मच्चाएको तर मूल्यवृद्धिप्रति गम्भीर नभएको, नागरिक अधिकार तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्न थालेको, बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन रहेको समेत आरोप लगाएको छ ।