कृषि क्याम्पस खोल्ने नाममा किसानको गास लुटियो

2698
views

पर्वत, १५, साउन । परिवार पालेको जग्गा सित्तैमा दिन कसैले पनि मान्दैन् र मान्ने कुरा पनि भएन् । रामपुर कृषि क्याम्पसको शाखा पर्वतमा ल्याउने भन्दै व्यक्तिगत लगानीमा खरिद गरिएको जग्गा सम्याउँदा आसपासका कृषकहरुको गास नै लुटिएको छ ।

धौलागिरी ह्युमन रिर्सोस डेभलप्मेण्ट कम्पनि पर्वतले फलेवास नगरपालिका–३ नुवार चम्डिल्लोमा २५ रोपनी जग्गा खरिद गरी धौलागिरी क्षेत्रलाई नै समेट्न गरी कृषि क्याम्पस खोल्ने भन्दै जग्गा सम्याउँदा किसानको गास नै लुटिएको हो ।

कम्पनीले फागुनमा जग्गा सम्याउँदा भएको क्षतिले कतिपय किसानकोे जग्गा पहिरोले लगिसकेको छ भने कतिपय किसानको जग्गा सिञ्चाईविहिन बनेको छ । त्यसैमाथि त्यसका क्षेत्रका अन्य किसानको जग्गामा धाँजा फाटेको छ । तर, क्याम्पस सञ्चालनको नारा लिएर गएका व्यक्तिहरु भने किसानको जग्गाको न क्षतिपुर्ति दिन्छन् न सल्लाह नै । उनीहरु मौन बसेका छन् ।

झण्डै पाँचसय मुरी धान उत्पादन हुने जग्गा त सिञ्चाईहिनि बनेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले जग्गा सम्याउँदा अस्तव्यस्त बनेको बाटोको निर्माण, व्यक्तिगत जग्गाको सुरक्षा र सिञ्चाई कुलोको निर्माण नगरे जुनसुकै प्रक्रिया थाल्ने अल्टिमेटम दिएका छन् ।

शाखा कृषि क्याम्पस सञ्चालनका नाउँमा स्थानीयसँग सहकार्य र छलफल नै नगरी व्यक्तिको जग्गा हडपेको स्थानीयवासी विष्णु तिवारीले बताए । तिवारीले भने ‘क्याम्पसको नाममा खरिद गरेको जग्गा सम्याउँदा झण्डै पाँचसय मुरी धान उत्पादन हुने जग्गामा क्षति पुगेको छ, व्यक्तिको जग्गा अतिक्रमण गर्नेलाई त्यसै छाड्न सकिदैन ।’

यस्तै अर्का स्थानीयवासी जयप्रसाद अधिकारीले आफ्नो परिवार पालेको जग्गा आफुलाई नै नसोधी दादागिरीका भरमा कृषि क्याम्पसको नाउँमा अतिक्रमण गरेको भन्दै आक्रोष पोखे । उनले आफ्नो चारमुरी धान र हिउँदे तथा नगदेबाली उत्पादन हुने खेतीयोग्य जमिन सहमति नै नगरी अतिक्रमण गरेको बताए ।

सोही ठाउँका अर्का स्थानीयवासी कृष्ण अधिकारीले पनि क्यापसका नाउँमा जग्गा सम्याउँदा आफ्नो तीनमुरी धान उत्पादन हुने खेत पहिरोले लगेको बताए ।

सोही ठाउँका स्थानीयवासी विष्णु अधिकारी, शिव अधिकारीले क्याम्पसका नाउँमा व्यक्तिगत लगानीको जग्गा सम्याउने र अन्य व्यक्तिको जग्गा हडपेर किसानको खेतीयोग्य जमिन नष्ट गर्ने काम भएको बताएका छन् । स्थानीयले बारम्बार भत्केको जग्गाको क्षतिपुर्ति दिन र सिञ्चाई कुलो बनाउन पटक पटक आग्रह गर्दा वेवास्था गरेको बताएका छन् ।

यता धौलागिरी ह्युमन रिर्सोस डेभलप्मेण्ट कम्पनिका अध्यक्ष लेखनाथ शर्माले सो क्षेत्रमा रामपुर कृषि क्याम्पसको शाखा क्याम्पस ल्याउन तयारी भइरहेको बताउँदै आवश्यकता अनुसार क्षतिपूर्ति दिन पहल गरिने समेत बताए । शर्माले सो क्षेत्रमा जग्गा सम्याउँदा ८० लाख रुपैयाँ व्यक्तिगत लगानी भैसकेको बताए । उनले मर्कामा परेका कृषकलाई राहातको व्यवस्था गर्ने जानकारी दिए । उनले विग्रे भत्केको जग्गाको मुल्य दिने वा अन्य ठाउँमा खरिद गरेर स्थानीयलाई राहत दिने व्यवस्था मिलाईने समेत जानकारी दिए ।

पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा कृषि क्याम्पसका नाउँमा जग्गा भत्क्याउँदा सडक, सिञ्चाई, खेतीयोग्य जमिनको क्षतविक्षत भएको छ ।