जोशी प्रकरणः कांग्रेसले सडक र सदन हुँदै अन्तराष्ट्रियकरण गर्ने

896
views

काठमाडौं, २० साउन । सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कामु प्रधानन्यायाधीश दिपकराज जोशीको विषयलाई अन्तराष्ट्रियकरण गर्ने जनाएको छ । शनिवार काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको छ ।

बैठकले सत्तारुढ नेकपाले दुईतिहाइका बलमा गरेको निर्णयलाई संसद, सडक हुँदै अन्तराष्ट्रियकरण गर्ने निर्णय गरेको हो ।

‘प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइ समितिले गरेको अस्वीकृति नेकपाको दुईतिहाइको बलमा भएको निष्कर्षमा हामी पुगेका छौं’, बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘यसलाई हामी संसद, सडक, बौद्धिक जगत् हुँंदै अन्तराष्ट्रियकरण गर्छौं ।’

दुईतिहाइ मतका आधारमा गरिने निर्णयले शक्ति पृथकीकरणको सिद्धान्तमा समेत खेलवाड भएको अर्का नेता डा. शेखर कोइरालाले बताए । ‘सत्तारुढ दलहरूको पछिल्लो भूमिकाबारेमा हामीमा आशंका देखिएकै हो’, डा. कोइरालाले भने, ‘यसमा अन्तराष्ट्रिय समुदायको समेत चासो छ । हामी पनि अन्ततः अन्तराष्ट्रिय जगतलार्ई यसप्रति गम्भीर हुन आग्रह गर्छौं ।
बैठकमा संवैधानिक परिषद्बाट प्रस्तावित प्रधानन्याधीश नै अस्वीकृत हुनु संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्रीको नैतिकतासँग समेत जोडिने विषय उठेको नेता केसीले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जोशी प्रकरणमा प्रधानमन्त्रीले नै नैतिक जिम्मेवारी लिनुपर्ने जिकिर गरे । ‘हामीले व्यक्तिभन्दा पनि पद्धतिको सवालमा अडान लिएका हौं’, नेता पौडेलले भने, ‘संवैधानिक परिषद्बाट सिफारिस भएको व्यक्ति सुनवाइ समितिबाट अस्वीकृत भएको छ । यो प्रकरण संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको नैतिकतासँग समेत जोडिन्छ ।’

काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको बैठकले सरकारको पछिल्लो भूमिकाले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको कामकारवाही समेत प्रभावित हुन सक्नेतर्फ गम्भीर हुनुपर्ने निष्कर्ष समेत निकालेको छ ।

यसैबीच कांग्रेस संसदीय दलको शनिबारको बैठकले कार्यपालिकाले न्यायपालिकालाई आफ्नो मातहतमा राख्न खोजेको र न्यायालय कमजोर बनाउन प्रयास गरेको निष्कर्ष समेत निकालेको थियो ।

संसदीय विशेष सुनुवाइ समितिको दुईतिहाइ मतले कायममुकायम प्रधानन्याधीश जोशीको नाम शुक्रबार प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । जोशी अस्वीकृत हुने भएपछि समितिमा रहेका कांग्रेस सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।