नवलपुर, साउन २३ वर्षात्को मौसम भएकाले सर्प बढी मात्रामा बाहिर निस्कने गर्दछ खेतबारी र झाडीमा काम गर्नुपर्ने भएकाले पनि सर्पले डस्ने जोखिम यो मौसममा बढी हुने गर्दछ । सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन् ।
सर्पले डसेको अङ्गलाई नचलाई जतिसक्दो छिटो अस्पताल पु¥याउनु नै उत्तम उपाय भएको बताएका छन् । भरतपुर अस्पतालमा सर्पदंशको उपचार र अनुसन्धान गरिरहनुभएका प्रा डा विजयप्रसाद पौडेल सर्पले डसेमा परम्परागत विधिबाट उपचार गर्नाले धेरैको अकालमा ज्यान जाने गरेको बताउनुहुन्छ । जतिसक्दो छिटो सर्पदंशको उपचार हुने ठाउँमा पु¥याउन सकेमा बचाउन सकिने उहाँको भनाइ छ ।
उहाँका अनुसार सर्पले टोकेको अङ्गलाई चलाइरहनु हुँदैन । खुट्टामा विषालु सर्पले डसेको भए बिरामीलाई हिँडाएर अस्पताल लग्नु हुँदैन । शरीरको जुन भागमा सर्पले डसेको छ, त्यो भागलाई नचलाइ, स्थिर गरी बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्छ । सर्पले डसेको अङ्ग मुटुभन्दा माथि लग्नु हुँदैन । डसेको भागलाई बढी चलाउँदा विष फैलिने क्रम बढ्छ ।
यसैगरी विषालु वा विषहीन जुनसुकै सर्पले डस्दा परम्परागत विधिअनुसार विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने चलन छ । कहिलेकाहीँ मुखले चुसेर रगत झिक्ने पनि गरिन्छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको संक्रमणको जोखिममा समेत वृद्घि हुन्छ । सर्पदंश भएको ठाउँमा आगोले डाम्नु, चुस्ने वा काट्नेजस्ता प्रक्रिया अपनाउनु गलत भएको उहाँको भनाइ छ । चिकित्सकका अनुसार मुखले चुस्दा रगतको नली खुल्ला हुन्छ र विष चाँडै फैलिन्छ ।
विज्ञहरुका अनुसार सर्पले डसेको बिरामी उत्तेजित हुने गर्दछन् । यसले शरीरमा रगतको सञ्चार बढ्छ र यसले विष फैलाउँछ । बिरामीको डर घटाउने उपाय गर्नुपर्छ । साथै उनीहरुमा हृदयघातसमेत हुनसक्ने भएकाले बिरामीलाई सान्त्वना दिएर शान्त राख्नु पर्दछ ।
भरतपुर अस्पतालमा वर्षेनी ५०० देखि ६०० सर्पदंशका बिरामी आउने गर्दछन् । जसमध्ये विषालु सर्पले डसेर सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको संख्या १० प्रतिशतभन्दा बढी हुने गर्दछ । गत वर्षको चैतदेखि असोजसम्मको मौसममा ५४ जनालाई सघन उपचार कक्षमा उपचार गरिएको थियो । जसमध्ये पाँच जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।