‘माथिल्ला नेता राज्य दोहनमा, तल्लो तहका जनप्रतिनीधि विलासितामा’–भट्टराई

1326
views

गोरखा, २६ श्रावण । पार्टी कार्यक्रममा शनिवार गोरखा आएका नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले कर विषयमा आलोचना गर्दै जनप्रतिनिधिलाई दोहनकारीको आरोप लगाएका छन् ।

भट्टराईले अनावश्यक करको भार बढाएर जनप्रतिनिधिको दोहनकारी चरित्र तल्लो तहसम्म पुगेको आरोप लगाएका हुन् । भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै तल्लो तहका जनप्रतिनिधिले शीर्ष नेताको देखासिकी गरेको आरोप समेत लगाए ।

‘माथिल्लो तहका नेता राज्यको दोहन गरेर जसरी निजी लाभ लिइरहेका छन् तिनै पार्टीबाट निर्वाचित भएका तल्ला तहका जनप्रतिनिधि पनि शीर्ष नेताको देखासीखी गरेर विलासितामा लागेको बताए ।

भट्टराईले तल्लो तहका जनप्रतिनीधिलाई ईङ्गित गर्दै कतिपय स्थानीय तहले जन्मदर्तामा १ हजारदेखि १५ सयसम्म कर लिने विषय सार्वजनिक गरेको न्दै उनले असन्तुष्टि जनाए । ‘जन्मने वित्तिकै कर लगाउनु गलत हो, विदेशमा बच्चा जन्मिए खुसी हुँदै आउँछन्, हामीकहाँ ट्याक्स तिर्नुपर्छ, यो उल्टो भयो,’ उनले भने, ‘यो संघीयताको मर्म्वपरीत भयो, केन्द्रीय नेतृत्वले दिशाबोध गर्नुपर्छ ।’

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई हत्कडी लगाउनु गलत भएको समेत उनले बताए । ‘राजनीतिक शक्तिलाई राजनीतिक ढंगले व्यवहार गरिनुपर्छ,’ उनले भने, ‘क्रान्ति गरेर आएका पार्टीका नेता सरकारमा हुँदा अपराधी घोषणा गरेर हत्कडी लगाउनु गलत भएको हो ।’ अहिलेको सरकारले राष्ट्रहित र जनविरोधी काम गरेको भट्टराईको आरोप छ ।

५–६ महिनामै सरकारको असली चरित्र देखिएको समेत उनले बताए। ‘१४ वर्ष जेल परेका प्रधानमन्त्री, विद्रोहको नेतृत्व गरेको प्रचण्ड र मेरा सहकर्मी साथीहरु भएको सरकारले केही राम्रो काम गर्छ भन्ने थियो,’ उनले भने,‘दुई, तीन वर्ष हेरौं भनेको ५–६ महिनामै राष्ट्रहित र जनविरोधी काम देख्यौं अब जनताले नयाँ विकल्प खोज्छन् ।’ सरकारले भ्रष्टचार, अनियमितता, कमिसनखोरी नियन्त्रण गर्न नसकेको उनको भनाइ छ ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका भट्टराईले शनिबार नै पुनर्निर्माणमा रहेको गोरखा दरबारको निरीक्षण गरेका थिए। पुनर्निर्माण ढिला भएको भन्दै उनले असन्तुष्टिसमेत जनाए ।