भेरी बबईको सात सय मिटर सुरुङ पूरा

3036
views

काठमाडौँ, ७, भदौ । भेरी बबई डाइभर्सनको बहुद्देश्यीय आयोजनाको सात सय मिटर सुरुङ खनिएको छ । बबई आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखिएको भागसहित गरी सुरुङ खनिएको हो । भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय मिटर सुरुङ खन्नुपर्ने आयोजनाका प्रमुख शिवकुमार बस्नेतले जानाकारी दिए ।

गतवर्षको दसैँको फूलपातीको दिनबाट चीनबाट मगाइएको टनेल बोरिङ मेसिन (टीबीएम) ले काम सुरु गरिएको थियो । काम सुरु भएको नौ महिनामा सात किलोमिटर सुरुङ खन्ने काम सकियो बस्नेतले भने ‘यो उपलब्धि अपेक्षाभन्दा राम्रो’ हो । यो आयोजना राष्ट्रिय गौरवको आयोजना हो ।

आयोजनालाई टनेल बोरिङ मेसिन (टीबीएम) ले खन्न सुरु गरेकोले नौ महिनामा सात किलोमिटर प्रगति हुन सफल भएको आयोजनाको ठहर छ ।

चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले सुरुङ खन्ने काम गरिरहेको छ । टीबीएमले एकैदिनमा ४८ मिटरसम्म सुरुङ खनिरहेको छ ।

ठेकेदार कम्पनीले प्रतिदिन एकदेखि दुई करोड रुपियाँसम्मको भुक्तानी लिने गरी काम गरिरहेको आयोजनाले बताएको छ । हाल टीबीएमले दैनिक २५ देखि बढीमा ४२ मिटर सम्म सुरुङ खन्ने गरेको छ । आयोजनाले सन् २०२० को अप्रिलसम्ममा सुरुङ खनिसक्ने कार्ययोजना बनाएको छ ।

आयोजनालाई सिँचाइ र जलविद्युत्सहितको बहुद्देश्यीय बनाइएको छ । आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतियोग्य जमिनमा सिँचाइ पुग्ने छ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्मको ४.२ व्यासको १२ किलोमिटर सुरुङ खनिने छ । सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।