दाङका सुन व्यवसायिद्वारा सुन पसल बन्द

2483
views

दाङ । दाङका सुन व्यवसायिले माग अनुसार सुन आपुर्ति गर्न नसकेको भन्दै सुन पसल बन्द गरेका छन् । दाङमा सुनचाँदी पसलहरु शुक्रबारदेखि बन्द छन् । बजारमा सुनको अभाव छ । सुनको माग बढी छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोद विश्वकर्माका अनुसार चाडपर्व नजिकिदा सुनको अभाव परेकोले सुन पसल बन्द गर्नुपरेको हो ।

सरकारले सुनमा सिन्डिकेट लगाएको हुँदा पछिल्लो समय बजारमा सुन अभाव भएको व्यवसायिको गुनासो छ । उनीहरुले तत्काल सिन्डिकेट खारेजीको माग गर्ने पनि संघले निर्णय गरेको छ । साथै उता रुपन्देहीका सुन पसल पनि बन्द गरेका छन् ।

सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक नभएको र चाडबाड नजिकिँदै गर्दा आपूर्ति कम भएकाले बन्द गर्नुपरेको रुपन्देही सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष एमबी विश्वकर्माले बताए । २०६८ सालमा जारी भएको सुन वितरणको नीति अहिले परिवर्तन नभएको उनको भनाइ छ ।

बैँकले सरल र सहजरुपमा न्यूनतम ५० ग्रामदेखि आवश्यकता अनुसार सुन वितरण गर्ने प्रणाली हुनुपर्ने उनले माग गरेका छन् । जिल्लामा झन्डै ४ सय सुनचाँदी व्यवसायी छन् भने दैनिक तीनदेखि पाँच किलो सुन खपत हुन्छ ।