नेपाल प्रहरीको ७५३ वटै स्थानीय तहमा प्रहरी सङ्गठन

1138
views

नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ । प्रहरीको ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले संघीयता कार्यान्वयन र सुरक्षा सुदृढीकरणका लागि प्रहरीले सबै स्थानीय तहमा प्रहरी एकाई स्थापना गरेको जानकारी दिए ।

नयाँ स्थापना गरिएका स्थानीय तहमध्ये १४ वटा कार्यालयमा प्रहरी निरीक्षक र बाँकी १६ कार्यालयमा प्रहरी नायब निरीक्षकले नेतृत्व गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले सङ्गठनलाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्नका लागि तीन हजार १०१ नयाँ दरबन्दी थपसमेत गरिएको छ । यसैगरी प्रदेश प्रहरी कार्यालय स्थापना हुन बाँकी प्रदेश २ र ५ का लागि प्रदेश प्रहरी र अन्य प्रहरीस्तरीय कार्यालयसमेत स्थापना गरिएकोे छ ।

मुलुकभर बढ्दो क्रममा रहेको सवारी साधन व्यवस्थापनलाई सहज बनाउनका लागि प्रहरीले प्रदेश संरचनाअनुसार प्रदेश ३ र ४ मा प्रदेश ट्राफिक कार्यालय स्थापना गरिने र यसका लागि प्रहरी प्रधान कार्यालयले नयाँ दरबन्दी थप गर्न पहल गरिरहेको छ ।

यस्तै प्रदेश नं ३ र ६ मा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी विद्यालय स्थापनाका लागि नयाँ दरबन्दी निकासा भई स्थापनाका लागि गृहकार्य भइरहेको जनाइएको छ ।