भौतिक संरचनाको कारण साग प्रभावित हुँदैन–विष्ट

990
views

पोखरा, २० भदौ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) प्रभावित नहुने बताए । खेलकूद पत्रकार मञ्च कास्की पोखराले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माणलगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने बताए ।

पूर्वाधार र राज्यको राम्रो सहयोग नभएको अवस्थामासमेत पाराग्लाइडिङका खेलाडीले एशियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उनको भनाइ छ ।

आगामी नोभेम्बरमा पोखरामा हुने अन्तराष्ट्रिय पाराग्लाइडिङ च्याम्पियन प्रतियोगिताअन्तर्गत सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न रु ३० लाख विनियोजन गरिएको सदस्य–सचिव विष्टले जानकारी दिए ।

आगामी सागमा पोखरामा छ वटा खेल सञ्चालन गर्ने भनिए पनि पाराग्लाइडिङसहित सातवटा खेल सञ्चालनको सम्भावना रहेको सदस्य–सचिव विष्टको भनाइ छ ।

सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माणमा रु दुई अर्बभन्दा बढी लगानी भइसकेको र उक्त प्रतियोगितालाई लक्षित गरी पोखरामा रु एक अर्ब २९ करोडको लगानीमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।