नेपाल रेडक्रसप्रति विश्वास र भरोसा–प्रधानमन्त्री

832
views

काठमाडौँ, भाद्र २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल रेडक्रसप्रति नेपाल सरकारको सदैव विश्वास र भरोसा रहेको बताउनुभएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओली र रेडक्रसको अन्तराष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीबीच आज प्रधानमन्त्री कार्यालयमा भएको औपचारिक भेटघाटमा प्रधानमन्त्री ओलीले भन्नुभयोः “विपद् र अप््ठ्यारो परेको जुनसुकै समयमा सबैले रेडक्रसलाई पहिले सम्झन्छन् । रेडक्रसका कार्यहरूले नेपाल सरकारका धेरै कार्यक्रमहरूमा सहयोग पुगेको छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कतिपय अवस्थामा रेडक्रसले अगाडी पुगेर मानवीय सेवा पुर्याएको छ, आगामी दिनमा यसको निरन्तरता रहने विश्वास व्यक्त गर्दछु ।”

रेडक्रसको अन्तराष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीले आफूले नेपालको गाँऊमा गएर भूकम्प प्रतिकार्यका गतिविधिले लाभान्वितहरूमा आएको खुशी हेर्न पाउँदा सन्तोष मिलेको बताउनुभयो । उहाँले भन्नुभयोः “नेपाल सरकारले अन्तराष्ट्रिय रेडक्रसलाई काम गर्ने वातावरण तयार गरिदिएको कारण आफूहरूले समयमा नै भूकम्प प्रभावितहरूको उद्दार राहत तथा प्रतिकार्यमा काम गर्न सक्यौँ, नेपाल सरकारप्रति अन्तर्रा्ष्ट्रिय रेडक्रस आभारी छ ।”

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापासहित महासचिव एस सीले हिजो सिन्धुली जिल्लाको सित्तलपाटीमा भुकम्प प्रभावित मानिसहरुसँग प्रत्यक्ष भेटघाट र रेडक्रसका सेवा गतिविधिहरुको अवलोकन गर्नुभएको जानकारी नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले दिनुभयो । महासचिवले सिन्धुलीमा स्थानीय तहका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सहित नेपाल सरकारका विभिन्न निकायका जिल्लास्थित उच्च अधिकारीहरुसँग मानवीय सेवा र रेडक्रसका गतिविधिहरुबारे अन्तरक्रिया गर्नुभएको थियो ।

गृहमन्त्रीसँग महासचिव एल्हाद एससीको भेट

आजै, महासचिव एस सीले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग पनि औपचारिक भेटघाट गर्नुभयो । द्वीपक्षीय सहयोग र सहकार्यका विषयमा छलफल भएको ती भेटपछि महासचिवले भन्नुभयोः यी भेटघाटहरू र रेडक्रसमार्फत् फिल्डमा भएको काम तथा लाभान्वितहरूसँगको अन्तरक्रियाबाट अत्यन्तै प्रभावित भएको छु ।

उच्च स्तरीय भेटघाटमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा, रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि जुजा किम तथा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालका साथै नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रसको ५६ औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा महासचिव सरिक हुनुभएको थियो । नेरेसो कर्मचारी कल्याण कोषको आयोजनामा २५ वर्ष सेवा गरिसकेका कर्मचारीहरुको सम्मान, कोषका सदस्यका छोरा छोरीहरुका लागि शैक्षिक प्रोत्साहन पुरस्कार र बिभिन्न खेल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उहाँले अन्तरकर्मचारी फुटवल फाइनल खेलको समुदघाट्न पनि गर्नुभएको थियो ।
रेडक्रसको अन्तराष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीले चारदिने नेपाल भ्रमण सम्पन्न गर्नुभएको थियो ।