फेसबुकले सिंगापुरमा डाटा सेन्टर बनाउने

664
views

एजेन्सी  । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्ने भएको छ । नवीकरणीय ऊर्जाको सहयोगमा सञ्चालन हुने यो सेन्टर सन् २०२२ सम्ममा प्रयोगमा आउनेछ । यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए । करिब एक लाख ७० हजार वर्ग्फिटमा फैलिने ११ तले यो अत्याधुनिक सेन्टरको तापमान सधैँ २५ डिग्री सेल्सियसको हाराहारीमा रहनेछ ।

फरलङका अनुसार एसियामै पहिलोपटक फेसबुकले यो स्तरको पूर्वाधार निर्माण गरेको हो । विश्वभर छरिएर रहेका फेसबुकका डाटा सेन्टरमध्ये सिंगापुरमा स्थापना गर्न लागिएको पन्ध्रौँ हो । यसै वर्षको जुनको अन्त्यसम्ममा विश्वभर मासिक २ अर्ब २३ करोड सक्रिय प्रयोगकर्ता रहेको फेसबुकले बलियो पूर्वाधारका कारण सिंगापुरमा डाटा सेन्टर स्थापना गर्न लागेको फरलङले जानकारी दिए ।