मन्त्रिमण्डलमा हेरफेर हुँदैन, हल्ला मात्र हो– प्रधानमन्त्री

891
views

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा हेरफेर हुने सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको आरोप लगाए ।

कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे ।

’छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ । कतिपयलाई यो मन परिरहेको छैन,’ ओलीले भने, ’छ महिनापछि धूलो र हिलोरहित काठमाडौँ हुन्छ । बाटो, ढल बन्छ । हामी इमान्दारिताका साथ काम गर्छौं । पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो । बनाउने क्रममा यस्तो हुन्छ । दुई बर्षभित्र काठमाडौंका बाटा पक्की हुन्छन् । कालोपत्रे सकिन्छ । यसमा कोही आत्तिएर केही हुँदैन र सरकार पनि ढल्दैन ।’

चीनसँगको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै उनले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण सुरु हुने बताए ।