नेपाल–चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ–सभामुख महरा

1249
views

काठमाडौँ, २७, भदौ । पाँचदिने चीन भ्रमणपछि स्वदेश फर्किएका सभामुख कृष्णबहादुर महराले आफ्नो चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताएका छन् । आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गरे ।

तिब्बत भ्रमणका अवसरमा सभामुख महराले चीनको तिब्बत स्वशासित क्षेत्रका पार्टी प्रमुख वु यिङै एवं उच्चपदस्थ पदाधिकारीसँग शिष्टाचार भेटघाट भएको जानकारी गराउँदै सभामुख महराले नेपाल, तिब्बत र चीनबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्ध, व्यापार, लगानी एवं पर्यटनलगायत विषयमा छलफल भएको पनि जानकारी दिए ।

सभामुख महरा छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीन र यसको स्वशासित क्षेत्र तिब्बत सरकारको निमन्त्रणामा तिब्बतको ल्हासामा आयोजित चौथो तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनमा प्रमुख अतिथिका रुपमा १० सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ २२ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा महराले तिब्बतको ल्हासामा नेपाली महावाणिज्य दूतावासको परिसरमा चीनको केन्द्र सरकार तथा तिब्बत स्वशासित क्षेत्र सरकारको सहयोगमा पुनःनिर्माण हुने नेपाली महावाणिज्य दूतावासको भवन, नेपाल र चीनको सिमानामा रहेको तातोपानीको मितेरी पुल तथा नेपाल र चीनको सिमानामा बन्ने रसुवागढी पुलको शिलान्यास गरेको बताए ।

सभामुख महराले प्रदर्शनीअन्तर्गत तिब्बतको लिन्ची प्रिफेक्चरअन्तर्गत लुलाङ शहरमा आयोजित ट्रान्स–हिमालय बेल्न एण्ड रोड अन्तराष्ट्रिय आर्थिक सहयोग मञ्चमा प्रमुख अतिथिका रुपमा सहभागी भएक थिए ।