बराबरीमा बार्सिलोना

567
views

स्पेन, ८, असोज । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्साका लागि लियोनल मेस्सी र जेरार्ड पिकेले एक–एक गोल गरेपछि बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई जिरोनाले २–२ गोलको बराबरीमा रोकेको हो ।

जिरोनाका लागि दुवै गोल क्रिश्चियन स्टुआनीले गरे भने खेलको ३५ औं मिनेटमा क्लेमेन्ट लेङ्गेटले रातो कार्ड खाएपछि बार्सिलोनाले बाँकी समय १० जनामै खेल्नुपरेको थियो ।

ला लिगाकै अन्य खेलमा सेभियाले लेभान्टेलाई ६–२ को फराकिलो अन्तरमा हराउँदा भियारियाल र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन् । गएराति नै रियाल बेटिसले एथ्लेटिक बिल्बाओसँग २–२ गोलको बराबरी खेलेको छ ।

गएरातिका खेलपछि स्पेनिस ला–लिगाको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट समान १३ अंक नै जोडेको रियाल मड्रिड गोलअन्तरका आधारमा दोस्रो स्थानमा समेटिँदा तेस्रो स्थानको डेपोर्टिभो आलाभेजको १० अंक छ ।