घारखोला जलविद्युत आयोजनाको निर्माण रोकियो

712
views

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि रोकिएका छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेपछि काम रोकिएको हो । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल कुरीलाबगरमा पुगेर काममा अवरोध गरेपछि निर्माण ठप्प भएको हो ।

प्रस्तावित अपर घारखोला जलविद्युत आयोजनालाई प्रभावित बनाउन नहुने, सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनिक गरी प्रभावित क्षेत्रका योजनालाई समान प्राथमिकता दिनुपर्ने, पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माण गर्नुपर्ने, स्थानीयवासीलाई लगानी र रोजगारीको अवसर, वातावरणीय क्षति न्यूनीकरण, सञ्चालक समितिमा प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै शिखका बासिन्दाले सङ्घर्ष समिति बनाएर आन्दोलन घोषणा गरेका छन् ।

आयोजनाले विगतमा पटक–पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेकाले बाध्य भएर अवरोधमा उत्रनुपरेको सङ्घर्ष समितिका संयोजकसमेत रहेका शिखका वडाध्यक्ष दिनेश पुनले बताए । विसं २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण शुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नं वडाको सीमाक्षेत्रमा पर्ने कुरीलाबगरदेखि २५० मिटर लामो सुरुङ खनेको छ । तीन किलोमिटर सुरुङ रहने आयोजनाको विद्युतगृह अन्नपूर्ण गाउँपालिका–६ स्थित पोखरेबगर र रातोपानीको बीचमा प्रस्ताव गरिएको छ ।

रु दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार कूल लागत अनुमान गरिएको आयोजनाको क्षमता ८ दशमलव ३ मेगावाटबाट बढाएर १४ मेगावाट पु¥याएको छ ।