किमसँग छिट्टै शिखर वार्ता हुने ट्रम्पको विश्वास

651
views

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । उनले आफूहरूको अबको भेटवार्ताबाट पनि आश्चर्यजनक उपलब्धि हुने विश्वास सोमबार राष्ट्रसंघको महासभामा पुगेका सञ्चारकर्मीसँगको भेटपछि व्यक्त गरे ।

उनसँग धेरै विषयमा छलफलपछि व्यापक सहमतिका आधार बनेका र अर्को भेट टाढा नभएको ट्रम्पले प्रतिक्रिया दिए । ट्रम्पले भने, ‘हाम्रो दोस्रो शिखर सम्मेलन मलाई चाँडै होला जस्तो लागेको छ ।’ दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताहरूको बैठकपछि दक्षिण कोरिया र चीनले तत्काल अमेरिकासँग फेरि वार्ता गर्न उत्तर कोरियालाई सुझाव दिएका थिए । दक्षिण कोरिया र चीनको सुझाव सार्वजनिक भएको केही दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चाँडै वार्ता हुने विश्वास व्यक्त गरेका हुन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन यसका लागि अमेरिका आइपुगेका छन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रमसँगै उनले अन्तर–कोरियाली शिखर बैठकका परिणामबारे जानकारी गराएका छन् । मुनले उत्तर कोरिया र अमेरिकाबीच हाल स्थगित वार्ता पुनः शुरु गराउन अमेरिकी राष्ट्रपतिसँग विस्तृत रूपमा छलफल गर्ने कार्यक्रम तय गरिएको थियो । ट्रम्प र किमबीचको बहुचर्चित पहिलो शिखर सम्मेलन यसअघि गत जुनमा सिंगापुरमा भएको थियो ।