पप्पु कन्ट्रक्सनका सञ्चालक समात्न प्रहरी परिचालन

925
views

रौतहट, ९ असोज । रौतहट प्रहरीले पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ गर्न पक्राउपूर्जी जारी गरेको छ । गत भदौ ९ गते रौतहटको गौरस्थित टिकुलीया घाटमा पप्पु कन्ट्रक्सनले बनाइरहेको पुलको पिलरमा ठोकिएर २९ जना सवार डुंगा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो ।

मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय रौतहटमा पप्पुका सञ्चालक हरिनारायण रौनियार र सुमित रौनियारविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएका थिए । 

जिल्ला प्रहरी कार्यालय रौतहटले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ९ को उफा २ बमोजिम उनीहरु दुवै जनालाई पक्राउ गर्न जिल्ला अदालत समक्ष माग गरेकोमा अदालतले असोज ४ गते पक्राउ गर्न आदेश जारि गरेको हो ।

रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालका अनुसार रौतहट प्रहरीले पर्सा प्रहरीलाई असोज ५ गते सुमितलाई पक्राउ गरिबुझाउन पत्रकाटेकोमा पर्सा प्रहरीले उनी काठमाडौं रहेको बताएपछि प्रहरीले पुनः महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत बानेश्वरलाई पत्र पठाएको छ । प्रहरीले हालसम्म उनलाई पक्राउ गर्न भने सकेको छैन ।

पक्राउ पुर्जी जारी गरिएका हरिनारायण संघीयसमाजवादी फोरमबाट प्रतिनिधिसभाका सदस्य हुन् ।