काठमाडौँ, असोज– ९ आफू वारेस बसेको पक्षले मुद्दा हारेपछि गोरखा फुजेलका नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनको इजलास तोडफोड गरेका छन् । इजलासमा रहेको कम्प्युटर, टेलिफोन तथा झ्यालको सिसा अधिकारीले फुटाएका छन् । इजलास अधिकृत रोशन बस्नेतमाथि पनि आक्रमण भयो ।

आइतबार साँझ अधिकारीले इजलास तोडफोड गरेका हुन् । उनलाई अदालत परिसरबाट ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ‘इजलास तोडफोड र आक्रमण गरेको अभियोगमा हामीले नियन्त्रणमा लिएका छौँ’ एसएसपी रवीन्द्र धानुकले भन्नुभयो, ‘हामीले कानुन बमोजिमको प्रक्रिया अगाडि बढाएका छौँ ।’
उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले मुद्दा फैसलापछि आफ्नो पक्षले हारेपछि नुरप्रसादले इजलास तोडफोड गरेको बताउनुभयो । दाहालले प्रहरीसँग समन्वय गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफू वारेस बसेको पक्षले मुद्दा हारेपछि उहाँले तोडफोड गर्ने, इजलास अधिकृतमाथि हातपात गर्ने काम गर्नुभयो । इजलास क्षति पुगेको छ । कम्प्युटर र दराज फुटाइएको छ । कानुन बमोजिम कारबाही हुन्छ ।’
उच्च अदालत पाटनको इजलास नम्बर २ मा न्यायाधीशद्वय रमेश पोखरेल र शेखरप्रसाद पौडेलको संयुक्त इजलास थियो । इजलासको दोस्रो नम्बरमा जग्गा खिचलो मेटाई घर भच्काई पाउँ भन्ने मुद्दा पेसीमा थियो । पाँच थान मुद्दामध्ये तीनवटा मुद्दाको पक्षमा विन्दु घतानी मगर हुनुहुन्थ्यो । विपक्षीमा जानुका सुनुवार समेत हुनुहुन्थ्यो । यस्तै दुई मुद्दामा भने जानुका सुनुवार पक्ष र विपक्षमा महानगरीय प्रहरी परिसर थियो । विन्दुको मुद्दाको वारेसमा नुरप्रसाद थिए ।
आइतबार नियमित पेसी सूचीबाट मुद्दाको सुनुवाइ भई साँझ फैसला सुनाइयो । उच्च अदालतको संयुक्त इजलासले पनि सुरु अदालतलको फैसला सदर गरेको थियो । अर्थात् ललितपुर जिल्ला अदालतको आदेश सदर हुँदै विन्दुले मुद्दा हार्नु भएको थियो । विन्दुले मुद्दा हारेको जानकारी इजलास अधिकृतले दिएपछि वारेस बसेका अधिकारीले एक्कासि इजलास प्रवेश गरी तोडफोड गरेका हुन् ।
उच्च अदालतका रजिस्ट्रार दाहालका अनुसार इजलासमा रहेको कम्प्युटर फुटाएपछि अधिकारीले नजिकै रहेको मुद्दाको मिसिल लगायतका फाइल राखिएको दराज तोडफोड गरेका थिए । दराज तोडफोडपछि अधिकारीले इजलास अधिकृत रोशन बस्नेतमाथि कुर्सीले आक्रमण गरे । आक्रमणमा परेका बस्नेतले मुस्किलले कुर्सी छलेपछि कुर्सी झ्यालको सीसामा लागेको थियो । सीसा फुटाएर कुर्सी तल्लो तलामा खसेको थियो ।
तोडफोड बढेपछि सुरक्षामा खटिएका प्रहरीले थप सुरक्षाकर्मीको सहायता माग गर्दै अधिकारीलाई नियन्त्रणमा लिएको दाहालले जानकारी दिनुभयो । अदालतले अधिकारीलाई प्रहरीको जिम्मा लगाएको छ । नुरप्रसाद द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका छोराको न्यायका लागि अनशनरत गंगामाया अधिकारीका छोरा हुन् ।










