संघीय संसद्को चालु दोस्रो अधिवेशन अन्त्य

638
views

काठमाडौँ, १२, असोज । संघीय संसद्को चालु दोस्रो अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को असोज ५ गतेको सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्यको पत्राचार गर्नुभएको हो । राष्ट्रपतिको पत्राचार बमोजिम बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो । चालु बजेट अधिवेशन वैशाख २३ गतेदेखि सुरु भएको थियो ।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको यसबीचको १३५ दिनमा ७९ वटा बैठक बसेका छन् । ७९ बैठकबाट १९३ घण्टा २५ मिनेट प्रतिनिधिसभाले काम गरेको छ ।  यसबीचमा चारवटा संयुक्त बैठक बसेका छन् । चारवटा बैठकले ६ घण्टा ५० मिनेट काम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ पटक प्रतिनिधिसभालाई सम्बोधन गर्नुभएको छ ।

अविधेनशबाट प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भयो । यस्तै, सरकारका तर्फबाट चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पेस र पारित पनि चालु अधिवेशनले नै गरेको हो । नीति तथा कार्यक्रम पेसका लागि नै दोस्रो अधिवेशन बोलाइएको थियो । यस्तै अधिवेशनमा सरकारको वार्षिक बजेट पेस र पारित भएको थियो । दोस्रो अधिवेशनमा प्रतिनिधिसभामा कूल २६ विधेयक दर्ता भएका थिए । जसमध्ये सरकारले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनका लागि पेस गरेको विधेयक फिर्ता लिएको थियो । बाँकी २५ मध्ये १८ विधेयक संघीय संसद्का दुबै सदनबाट पारित भएका छन् ।

राहदानी विधेयक प्रतिनिधिसभाले पारित गरे पनि राष्ट्रियसभाले पारित गरेको छैन । यस्तै, राष्ट्रियसभाबाट पारित भइ आएका दुई विधेयक सन्देशसहित प्रतिनिधिसभामा विचाराधीन छन् । प्रतिनिधिसभामा दर्ता भएका ६ विधेयक भने समितिमा विचाराधीन छन् । अधिवेशनकै अवधिमा संघीय संसद्का दुई संयुक्त र दुवै सदनका विषयगत समिति सभापति चयन भएका छन् । यस्तै प्रतिनिधिसभाले नेपाल पक्ष भएका विभिन्न पाँच महासन्धि पारित गरेको छ । अधिवेशनमा दुई सार्वजनिक महत्वका प्रस्ताव पारित गरेको छ भने, सबै प्रकारका महिला हिंसा न्यूनीकरणसम्बन्धी एक संकल्प प्रस्ताव पारित भएको छ । अधिवेशनले प्रतिनिधिसभा नियमावलीको परिकल्पना अनुसार मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सुरु गरेको छ ।