भैंसीको मासु ट्याक्टरमा ढुवानी, बधशाला छैन व्यावसायिको मनोमानी

4082
views

महेन्द्र जिसी
पर्वत, ३१ असोज । दसैं पर्वले आम सर्वसाधारणहरुलाई तताईरहेको छ । मासुका लागि खसी, बोका, च्याङ्ग्राको व्यापार पनि उत्तिकै बढ्दो छ । हरेकको घरमा मासुको जोहो गर्न भ्याईनभ्याई छ । तर, पर्वतका मासु व्यावसायि मापदण्ड विपरित भैंसी काटेर ट्याक्टरमा मासु ढुवानी गर्दा फन्दामा परेका छन् ।

कुश्मा नगरपालिका सदरमुकाममा मासु व्यावसाय सञ्चालन गर्दै आएका करीम मिया, डब्लु मिया र जित बहादुर नेपालीले भैंसीको मासु ट्याक्टरमा ढुवानी गरी विक्रि वितरण गर्दा फन्दामा परेका हुन् । दुईदिनअघि जिल्ला प्रशासन कार्यालय पर्वतले मासु व्यावसायिको गतिविधिबारे अनुगमन गर्दा कुश्माका भैसी काटने दुई व्यावसायीले मापदण्ड विपरितको कार्य गरेको फेला पारेपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिई आवश्यक कार्वाही गरेको छ ।

मापदण्ड पुरा नगरेको अव्यवस्थित वधस्थल र रोक लगाइएको भैंसीको मासु ट्याक्टरमा ढुवानी गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहासन कार्यालय पर्वतका सुब्बा प्रभात लामिछानेले जानकारी दिए । लामिछनेका अनुसार अनुगमनका क्रममा मासु व्यावसायि करीम मिया फ्रेस हाउसका सञ्चालक डब्लु मिया र जित बहादुर नेपालीलाई मापदण्ड विपरित कार्य गरेको फेला पारेपछि कार्वाही चलाइएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतले खाध्य सुरक्षा र कालाबजारी कृतिम अभावको नियन्त्रणको लागि अनुगमन अभियान थालेको थियो । अभियानका क्रममा मासु व्यावसायिलेगरेको लापरवाही फेला पारेको प्रशासनले जनाएको छ । विषेश गरी चाडपर्वमा मासुको कारोवार बढी हुने र उपभोक्ताले स्वास्थ्यकर मासु खान नपाउने विषयलाई मध्यनजर गर्दै प्रशासनले मासुको व्यावसाय सुरक्षीत र स्वास्थ्य तवरको बनाउन अनुगमन गरेको थियो । अवैध रुपमा ट्याक्टरमा मासु ओसारपसार कार्य गर्ने मासु व्यावसायि जित बहादुर नेपालीलाइ तारेखमा कार्वाही चलाइएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले खाध्यन्नमा कमजोरी नभेटीएको पर्वतमा ठुला पशुको बधस्थलको मापदण्ड नपुगेको करण नियन्त्रणमा लिएर नियमन थालिएको बताए । मापदण्ड नपुगेका बधस्थलमा रोक लगाइएका भैसी काट्दै गर्दा फेला पारेपछि प्रशासनले नियन्त्रण गरेर कार्वाही थालेको ढकालले बताए ।