म्याग्दी, ८ कात्तिक । बेनी नगरपालिका–८ कालीपुलदेखि जलजला गाउँपालिका वडा नं २, ३ र ४ मा पर्ने मल्लाज जोड्ने पक्की पदमार्ग निर्माण भएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भगवती कोत मन्दिर परिसरसम्म करीब दुई किलोमिटर पदमार्ग निर्माण भएको हो ।
पाँच वर्षअघि कालीपुलदेखि शुरु भएको पदमार्ग निर्माणले यस वर्ष पूर्णता पाएको डिलफाँट–कोतघर पदमार्ग उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताउनुभयो । तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण भएको अध्यक्ष बरुवालले जानकारी दिनुभयो ।
संस्थाको रु ५९ लाख ८६ हजार ३५२ सहयोग र स्थानीयवासीको रु १७ लाख ३३ हजार ७७७ को लागतमा तीन वर्षअघि कालीपुलदेखि डिलफाँटसम्म पदमार्ग निर्माण भएको थियो ।
यस वर्ष संस्थाको थप रु छ लाख ३३ हजार र स्थानीयवासीको रु दुई लाख ७६ हजार ७५१ को लगानीमा ३०० मिटर पदमार्ग बनाएर कोतघर परिसरमा पु¥याइएको हो । साविक माझफाँट गाविस र वडाले पनि डिलफाँटदेखि कोतघरतर्फ ३०० मिटर पदमार्ग निर्माण गरेका थिए ।
पदमार्ग निर्माण भएपछि बेनीबजारका साथै बगरफाँट वारिबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।