गाईपालनबाट मासिक दुई लाख आम्दानी

852
views

पाल्पा । तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले गाईपालन थालेपछि मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गरेका छन् ।

साउदी अरबबाट फर्केर गाईपालन व्यवसाय शुरु गरेका रेश्मीले १७ वटा गाई पालेका छन् । उनका दशवटा गाई दुहुना छन् । गाईले दैनिक ५० लिटर दूध दिन्छन् । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ । गाईपालनबाट रेश्मी परिवार सन्तुष्ट छ ।
यस्तै चिनारीकै रुकवीर रेश्मीले पनि बराइनबाट फर्केर २०६७ सालदेखि गाईपालन गर्दै आएका छन् । उनले मासिक रु डेढ लाख आम्दानी गर्दै आएको बताउँछन् ।

उनको गोठमा ३२ उन्नत जातका गाई छन् । दैनिक ११० लिटर दूध उत्पादन हुन्छ ।’ चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाईपालन थाले । एघार मध्ये पाँच गाईले दैनिक ३५ लिटर दूध दिन्छन् । मासिक रु दुई लाखसम्म आम्दानी गर्ने उनले बताए ।

चिनारीबाट दैनिक ५५० लिटर दूध तानसेन खपत हँुदै आएको छ । मासिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुन थालेपछि युवा गाईपालनतर्फ आकर्षित भएका हुन् । चिनारीका ३० परिवारले गाईपालन गर्दै आएका छन् ।