काठमाडौ । कागेश्वरी मनोहरा वडा नं ९ मा गोठाटार स्वास्थ्य चौकी भवनको एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । कागेश्वरी नगरपालिकाका प्रमुख कृष्णहरी थापा, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा र काठमाण्डौँ रेडक्रसका सभापति मथुराराम श्रेष्ठले गोठाटारमा भवनको शिलान्यास गरेका हुन् ।
भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत कागेश्वरी मनोहरा नगरपालिकाद्धारा उपलव्ध गराइएको जग्गामा नेपाल रेडक्रसको आर्थिक सहयोग र काठमाण्डौँ रेडक्रस शाखाको संयोजनमा सो स्वास्थ्य चौकी भवन निर्माण हुने नेपाल रेडक्रसका सूचना अधिकारी दिव्यराज पौडेलले जानकारी दिए ।
ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सो भवन ७ महिनामा निर्माण सम्पन्न हुन सवैको सहयोग प्राप्तहुने नेरेसोका अध्यक्षको भनाई छ । गोठाटारमा खुला स्थान, सामुदायिक सभा हल, जिम खाना हेल्थ क्लब सहितको बहुतले भवनको अवधारणा नगरपालिकाले बनाएको र सो मास्टर प्लान भूकम्प जोखिमलाई विचार गरी कार्यान्वयनमा ल्याइने नगर प्रमुख कृष्णहरी थापाले बताए ।
रेडक्रस काठमाडौँ जिल्ला शाखाका सभापति मथुराराम श्रेष्ठको सभापतित्वमा र स्थानीय बासिन्दा, स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु र रेडक्रसकर्मीहरुको उपस्थितिमा सञ्चालित कार्यक्रममा नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वा, विपद् व्यवस्थापन समितिका सभापति तथा नेरेसोका केन्द्रीय सदस्य मनोज थापा, स्थानीय रेडक्रसकर्मी चन्द्रकला कार्कीले स्वागत र शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो भवनको लागत एक करोड ६५ लाख १३ हजार रहेको र १ सय ७७ वर्ग मिटर जमीन भवनले ओगटने काठमाण्डौ रेडक्रसका मन्त्री श्याम डोटेलले जानकारी दिनुभयो । स्वास्थ्य चौकीको परिशरको कूल क्षेत्रफल भने ३४४ बर्ग मिटर रहने छ ।