काठमाडौं । वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सको उपाधिका लागि नोभाक जोकोभिच र जर्मनीका अलेक्जेन्डर भेरेभ भिड्ने भएका छन् । उपाधि दाबेदार रोजर फेडेरर भने युवा खेलाडी २१ वर्षीय भेरेभसँग सेमिफाइनलमै पराजित भएका छन् ।
लन्डनमा भएको खेलमा सर्वियन खेलाडी जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई २–० को सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
यो वर्षको सातौं फाइनल खेल्नका लागि जोकोभिचले एन्डरसनलाई ६–२ र ६–२ ले पराजित गरे । १४ पटकका ग्राण्डस्लाम च्याम्पियन जोकोभिचले उपाधिका लागि अब जर्मनीका अलेक्सान्दर भेरेभसँग खेल्नेछन् ।
करियरको १००औं उपाधि जित्ने लक्ष्यका साथ यो प्रतियोगिता खेलेका फेडेररलाई भेरेभले २–० कै सेटमा हराए ।
फेडेररलाई पहिलो सेटमा ७–५ ले हराएका भेरेभले दोस्रो सेटमा ७–६ को जित निकाले । योसँगै रोजर फेडेरर युवा खेलाडीसँग पराजित हुँदै एटिपी फाइनल्सबाट बाहिरिएका छन् ।
भविष्यको ग्राण्डस्लाम विजेताको रुपमा हेरिएका भेरेभले आइतबार उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोविचसँग प्रतिस्पर्धा गर्नेछन् ।