आगलागीमा परी एकै परिवारका चारको मृत्यु

546
views

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गएराति आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महीनाको शिशु टीकाराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएका कारण आगालागि भएको हो ।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल घाइते भएकी छन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ । काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो ।

विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।