विमान उडाउँदा उडाउँदै पाइलट निदाएपछि…

792
views

अस्ट्रेलिया, १२, मंसिर । अस्ट्रेलियामा एउटा विमानका पाइलट उडानकै क्रममा निदाएपछि निर्धारित हवाईमार्ग छाडेर विमान अन्यत्र पुगे पनि सम्भावित दुर्घटना भने टरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार एउटा सानो विमानको पाइलट उडानकै क्रममा निदाएपछि बाटो बिराएर उक्त विमान करिब ५० किलोमिटर टाढा पुगेको थियो । ‘पाइपर पीए–३१’ विमान किंग आइल्याण्डबाट डेभन पोर्ट गइरहेको अवस्थामा उक्त विमानका पाइलट निदाएका थिए ।

ककपिटमै बसिरहेको समयमा पाइलटलाई निन्द्रा लागेको बताइए पनि अवतरणअघि पाइलटको निन्द्रा कसरी खुल्यो भन्नेबारे जनाइएको छैन । सो विमानमा पाइलटमात्र रहेको जनाइएको छ । अधिकारीहरुका अनुसार विमानमा अन्य यात्रु तथा चालक दलका थप सदस्य भने थिएनन् ।

विमानलाई सकुशल अवतरण गराइएको अधिकारीहरुको भनाइ छ । उनीहरुले पाइलटसँग बयान लिने जनाएका छन् । (एजेन्सी)