कोलकातामा भेटियो ३३ किलो सुन

1133
views

काठमाडौँ, १, पुस । काठमाडौंबाट हराएको ३३ किलो सुन भारतको कोलकाता, धनकुटीटोल प्लाजास्थित दिल्ली–कोलकाता हाइवेबाट बरामद भएको छ ।

सुन भरिया सनम शाक्य हत्या घटनाका मुख्य योजनाकार गोरे भन्ने चूडामणि उप्रेतीको समूहले खाडीबाट झिकाएको ३३ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बानेश्वरस्थित गोरेको कार्यालय ल्याउँदै गर्दा हराएको थियो ।

भारत सरकारको केन्द्रीय राजस्व अनुसन्धान ब्यूरो (सीआरआईबी) को टोलीले मारुती स्वीफ्ट कारमा लुकाइराखेको अवस्थामा केही दिन अघिमात्र उक्त सुन बरामद गरेको जनाएको छ ।

सुनसँंगै सुनसरी इटहरीका हेमप्रसाद शर्मा र राकेशप्रसाद पक्राउ परेका छन् । सीआरआईबीले आफ्नो वेब साइटमा नै फ्ल्यास न्यूजका रूपमा ३३ किलो सुन बरामद भएको समाचार सार्वजनिक गरेको छ ।

अबैध सुन र सुनको ओसारपसारमा संलग्न ती दुईजना नेपालीको सम्बन्धमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

सुन भरिया सनम हत्या घटना र ३३ किलो सुन हराएको सम्बन्धमा गठित उच्चस्तरीय छानविन समितिले कोलकातामा बरामद सुनका सम्बन्धमा जानकारी लिने कार्य भइरहेको जनाएको छ ।

सुन तस्करीको विषयमा छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिका संयोजक सहसचिव ईश्वरीराज पौडेलले ३३ किलो सुनसहित दुईजना नेपाली पक्राउ परेको खबर प्राप्त भएको जानकारी दिए ।

छानविन समितिले बरामद ३३ किलो सुन फिर्ता ल्याउने विषयमा छलफल गर्ने जनाएको छ । भारतमा नेपालको अतिरिक्त अन्य छिमेकी देशबाट समेत सुनको अबैध आयात हुने गरेको छ । ३३ किलो सुन बीचबाटोबाट नै गायव भएपछि थाई एयरका कर्मचारी सानु वनको विमानस्थलमा गुड्दै गरेको ट्याङकरले किचेर हत्या भएको थियो भने प्रेमलाल चौधरीले आत्महत्या गरेका थिए ।