नेकपा स्थायी कमिटी बैठकः पार्टी र सरकारलाई गति दिनुपर्छ

548
views

काठमाडौं, ८, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार स्थायी कमिटी बैठकमा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले राजनीतिक प्रतिवदेनका साथै समसामयिक मुद्दाहरूमा आ–आफ्नो धारणा राख्नुभयो । उहाँहरूले सरकारका कामकारबाही पार्टीको मापदण्ड अनुसार बनाउन सुझाव दिनुभयो ।

गत शनिबार सुरु भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन प्रस्तुत भएपछि त्यसैमा छलफल हुँदै बैठक निरन्तर बसिरहेको छ । सोमबारबाट स्थायी कमिटी बैठकमा सदस्यहरूले बोल्नेक्रम शनिबारसम्म जारी नै रह्यो । परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीमात्र बोल्न बाँकी हुनुहुन्छ । आइतबार बिहान बस्ने बैठकमा उहाँले धारणा राख्नुभएपछि अध्यक्षद्वयले सम्बोधन गर्नेक्रम सुरु हुने बताइएको छ ।

मन्त्री ज्ञवाली अमेरिका भ्रमणबाट आउनुभएकाले उहाँले आइतबारमात्र धारणा राख्नुहुने एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो । यद्यपि मन्त्री ज्ञवालीले शनिबारको बैठकमा आफ्नो अमेरिका भ्रमणका बारेमा पार्टीलाई औपचारिक जानकारी गराउनुभयो । बैठक फलदायी र सफल भएको उहाँले बताउनुभएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

शनिबारको बैठकमा वरिष्ठ नेताहरूमा पूर्वप्रधानमन्त्री नेपाल र खनालका साथै महासचिव विष्णुप्रसाद पौडेल, मन्त्रीहरू रामबहादुर थापा , गिरिराजमणि पोखरेलले धारणा राख्नुभएको थियो । महासचिव पौडेलका अनुसार वक्ताहरूले पनि सरकार र पार्टीको कार्य प्रगतिकामा केन्द्रित भएर धारणा राख्नुभएको छ । वरिष्ठ नेताहरुले सरकारको काम र पार्टीको काम मापदण्डअनुसार हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

वरिष्ठ नेता नेपालले पार्टीको विधानमा नमिलेका विषय धेरै भएकाले त्यसलाई सच्याएर जानुपर्ने सुझाव दिनुभयो । पार्टी मापदण्ड अनुसार नचलेको र सरकार पार्टीबाट निर्दे्शित भएर काम नगरेकोमा उहाँले गुनासो गर्नुभएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
शाक्यले नेता नेपाललाई उदृत गर्दै भन्नुभयो, “व्यक्तिलाई हेरेर होइन, पार्टीको सिद्धान्त, मापदण्डलाई ख्याल गरेर काम गरौँ, नेतृत्वले कसैलाई काखा पाखा गरेर काम गर्न सुहाउँदैन ।”

सरकारका कामको चर्चा गर्दै वरिष्ठ नेता नेपालले सरकारले काम गर्ने प्रयास गरेको भए पनि अझै परिणाम आउन नसकेको बताउनुहुँदै भन्नुभयो, “सरकारमा रहेकाले काम गर्नुपर्छ, कुरा धेरै भयो ।” पार्टीमा आन्तरिक छलफलबाटै सरकारको काम अगाडि बढ्दा प्रभावकारी हुने उहाँले सुझाव दिनुभयो ।

पूर्व प्रधानमन्त्री एवं अर्का वरिष्ठ नेता खनालले पार्टीको विचार, सिद्धान्त र दर्शनअनुसार काम गर्न सुझाव दिनुभयो । “पार्टीको सिद्धान्त र दर्शन एकातिर छ, पार्टीको काम अर्को्तिर भयो” नेता खनालले भन्नुभयो, “पार्टी र सरकार दुवै विधि र प्रणालीअनुसार चल्नुपर्छ, सच्चिन नसके भोलिको परिणाम भोग्न तयार हुनुपर्छ ।”

कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको सरकारको अनुभूति जनताले गर्न नसकेको टिप्पणी गर्नुहुँदै नेता खनालले पार्टीको एकता प्रक्रियाको काम छिटो सम्पन्न गरी पार्टी र सरकारलाई नयाँ गति दिनुपर्छ भन्नुभयो । “सरकार पार्टीबाट निर्दे्शित हुनुपर्छ’’ अध्यक्ष खनालले पार्टी नेताहरुको योग्यता र क्षमता हेरेर जिम्मेवारी दिनुभन्दा व्यक्ति हेरेर दिइनु गलत भएको टिप्पणी गर्नुभयो ।

महासचिव विष्णु पौडेलले सरकारले गरेको काम सही दिशामा रहेकाले परिणाम पर्खन आग्रह गर्नुभएको थियो । पार्टी नेतृत्वले बैठकमा पेस गर्नुभएको प्रतिवेदन पनि सकारात्मक रहेको भन्दै उहाँले नेतृत्वको आलोचना धेरै गर्न नहुने बताउनुभएको थियो ।

बैठक सुरु हुनुअघि स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको विषयमा सरकारले गरेको कामको प्रगति सुनाउन सरकारसँग माग गर्नुभएको थियो । गृहमन्त्री रामबहादुर थापाले धारणा राख्नेक्रममा निर्मला पन्तको हत्यामा संलग्नहरुको खोजीकार्य तीव्रगतिमा भइरहेको र परिणाम छिटो आउने जानकारी बैठकलाई गराउनुभएको थियो ।

पन्तको हत्यामा संलग्नहरुको चाँडो पत्ता लगाई कारबाही गर्न नसक्दा जनस्तरमा पार्टी र सरकार दुवैको व्यापक आलोचना भइरहेकाले छिटो त्यसमा प्रगति गर्नुपर्ने सुझाव नेता शाक्यले आग्रह गर्नुभएको जानकारी दिनुभयो ।

गत मङ्सिर २९ गते शनिबारबाट सुुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले बैठकमा उठेका जिज्ञासाको जवाफसहितको धारणा राख्नुभएपछि बैठक सकिनेछ । स्थायी कमिटीका ४५ र छजना आमन्त्रितसहित ५१ सदस्यीय बैठकमा बोल्ने वक्तालाई २० मिनेटको समय निर्धारण गरिएको छ । बैठक आइतबार विहान पुनः बस्ने महासचिव पौडेलले जानकारी दिनुभएको छ ।

शुक्रबार शैक्षिक अवलोकन गरेर फर्कनेक्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी निधन हुनेहरूप्रति नेकपा बैठकले श्रद्धाञ्जलि व्यक्त गरेको छ । महासचिव पौडेलकाअनुसार शोकाकुल परिवारजनमा पार्टीले गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गरेको छ । गोरखापत्रबाट