देजमो प्रदेश नं ४ को बैठक सम्पन्न

657
views

सागर सुवेदी
पोखरा, १४ पुस । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं ४ को बैठक पोखरामा सम्पन्न भएको छ । सम्पन्न बैठकले यहि आँउदो २०७५ चैत्र २४ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनलाई सफल बनाउन व्यापक जनसहभागिता जुटाउने तयारी गरेको छ ।

बैठकले फागुन ७ गते देखी २१ गतेसम्म हुने १५ दिने मेची महाकाली अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी गरेको छ । अभियानको पूर्वमा झापा पश्चिममा कञ्चनपुर, मध्यमा काठमाडौं र पोखरामा हुने उद्घाटन कार्यक्रमलाई भव्य तुल्याउन आवश्यक निर्णय गरेको छ ।

राष्ट्रियता, जनतन्त्र एवं जनजीविकालाई मुल नारा बनाउँदै अभियानको क्रममा संगठन विस्तार गर्ने निर्णय समेत गरेको जनाएको छ ।

बैठक मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट व्युरो सदस्य एवं प्रदेश नं ४ का सेक्रेटरी श्रीनाथ अधिकारी ‘श्याम’ को प्रमुख आतिथ्यतामा देजमोका प्रदेश संयोजक एवं देजमो नेपालका केन्द्रिय सचिवालय सदस्य केश बहादुर परियारको अध्यक्षतामा सम्पन्न बैठकमा अभियानका क्रममा सिमा अतिक्रमण एवं डुबानमा परेका क्षेत्रहरुको अवलोकन, जनप्रर्दशन, जनसभा लगायतका कार्यक्रमहरु हुने स्पष्ट पारिएको थियो ।

सो बैठकले देशका ११ वटै जिल्लामा जिल्ला भेला तथा सम्मेलन गर्ने, मित्र संगठनहरुसँग सहकार्य गर्ने, अन्तरक्रिया, विचार तथा गोष्ठीका आयोजना, संघर्ष र आन्दोलनका कार्यक्रमहरुलाई व्यापक र शशक्त बनाउने जस्ता विषयहरुमा विशेष जोड दिइएको छ ।

बैठकमा पार्टी केन्द्रिय सदस्यहरु राम्जी थापा, अरुण, निश्छल, हिरा, देजमो नेपालका केन्द्रिय सदस्य सुशिला थापा र देजमो नेपालका केन्द्रिय सदस्य भिम श्रीसको उपस्थिति रहेको थियो ।