नागरिक समाज पर्वतले मनायो पृथ्वी जयन्ती

1128
views

पर्वत, २७, पुस । राष्ट्रिय एकताका प्रतिक पृथ्वीनरायण शाहको २९७ औं जन्मजयन्तिका अवसरमा नागरिक समाज पर्वतले जिल्ला अस्पताल पर्वतमा फलफुल वितरण गरेको छ । ‘नेपाल सबै जातजातीको साझा फुलवारी हो’ भन्ने दिव्य उपदेशलाई मनन गर्दै नागरिक समाज पर्वतको आयोजनामा बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

पृथ्वी जयन्तीका अवसरमा जिल्ला अस्पताल पर्वतका अध्यक्ष एवं (पूर्व नेकपा एमालेका जिल्ला सचिव) गोविन्द पहाडीले विरामीलाई फलफुल वितरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पहाडीले नेपाल एकीकरणमा पृथ्वीनरायाण शाहको महत्वपूर्ण योगदान रहेको बताए ।

नागरिक समाजद्वारा अयोजित कार्यक्रममा राप्रपा नेपाल पर्वतका सचिव प्रकाश पौडेलले वास्तविक यथार्थपरक र बस्तुनिष्ठ आधारमा पृथ्वीनरायण शाहको योगदानको मुल्याँकन गर्नुपर्ने अवस्था आएको बताउँदै अतिरञ्जनापूर्ण ढंगले महिमा गाउने गलत पद्धतिको विकास गर्न नहुनेमा जोड दिए ।

कार्यक्रममा नागरिक समाज पर्वतका संयोजक सुर्यप्रकाश पौडेलले ‘घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्, अदालत धर्म कचहरीमा उठेको रकम दस्तुर दरबार नपठाउनु भनी प्रतिवन्ध लगाउँदै न्यायको बिक्री गर्न नहुने स्पष्ट विचारका धनी पृथ्वीनारायण शाहको जन्मजयन्ती हरेक नेपालीले मनाउनुपर्ने धारणा व्यक्त गरे ।

पौडेलले पृथ्वीनारायण शाह ईष्टईन्डिया कम्पनीको चंगुलबाट नेपाललाई बचाई स्वाभिमान र शक्तिशाली राष्ट्र निर्माण गर्ने कर्मयोद्धा भएको तर वर्तमान व्यवस्थामा राष्ट्रिय स्वाधिनता समेत संकटमा परेको बताए ।

कार्यक्रममा यज्ञ बहादुर थापाले राष्ट्रियताको सवालमा दलहरुका राष्ट्रियता बिक्रि भइरहेको अवस्थामा राजसंस्था वा राजतन्त्र अपरिहार्य भएको बताए ।

पृथ्वीजयन्तीको सो कार्यक्रममा ठाकुरबम मल्ल, सरोज शर्मा वैरागी, गोपी लामगादेले मुलुकमा राजतन्त्र अनिवार्य र अपरिहार्य रहेको बताए ।