२१ औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरी

909
views

भद्रपुर, २, माघ । एक्काइसौँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

कार्यालयका प्रमुख, कर्मचारी, भद्रपुर नगरपालिका उपप्रमुखलगायत सहभागी प्रभातफेरिमा ‘घटाऔँ भूकम्पको खतरा जागरुक भई, आउला भूकम्प भत्काउला घर, जिउधन जोगाउने हाम्रो कर, सस्तो सुलभ वैज्ञानिक प्रविधिको विकास गरौँ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकिएको थियो ।

प्रदेशसभा सदस्य पूर्ण्सिंह राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले नेपालमा विसं १८९० देखि २०७२ सालसम्ममा भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख इञ्जिनीयर विदुर खड्काले कमजोर भवन बनाउँदा पुग्ने क्षति र एक वा डेढ तलाको भवनको नक्सापास गरेर सात तलाको भवन बनाउँदा हुने क्षतिको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले भूकम्पबाट क्षति न्यूनीकरण गर्न अनिवार्यरूपमा सरकारले तोकेको मापदण्डअनुसारका भवन बनाउनसमेत आग्रह गर्नुभएको थियो ।