‘श्रीनाथ अधिकारी उपचार सहयोग समिति’ गठन

2317
views

काठमाडौं, ९, माघ । क्यान्सर जस्तो प्राण घातक रोगबाट पीडित भई चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य तथा ४ नं. प्रदेश (गण्डकी प्रदेश)का सचिव श्रीनाथ अधिकारी (श्याम) को उपचारका लागि क्रान्तिकारी माओवादीले ‘श्रीनाथ अधिकारी स्वास्थ्य उपचार सहयोग समिति’ गठन गरेको छ ।

मंगलबार पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पोलिटव्यूरो सदस्य दिनेश शर्मा, केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ, हुकुमबहादुर सिंह लगायतका नेताहरुको उपस्थितिमा बसेको बैठकले पार्टी पीविएम दिनेश शर्माको नेतृत्वमा श्रीनाथ अधिकारी स्वास्थ्य उपचार सहयोग समिति गठन गरेको हो ।

उक्त समितिका सदस्यहरुमा सुरेश श्रेष्ठ, हुुकुमबहादुर सिंह, प्रतावराज वन्त, रामबहादुर नेपाली, भक्ति लामिछाने, इन्द्र पोखरेल, हरिकृष्ण खनाल, हरिकृष्ण उपाध्याय, बालकृष्ण अछामी लगायत रहेका छन् । यो समितिले नेता अधिकारीको उपचारको लागि आर्थिक सहयोग जुटाउने क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य श्रीसले बताए ।

घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शंका गरी पोखराले १९ पौषमा थप उपचारको लागि भरतपुर क्यान्सर अस्पताल रेफर गरेको थियो । उहाँको अहिले भरतपुर अस्पतालमै उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

नेता अधिकारी कम्युनिस्ट आन्दोलनमा एक इमान्दार, निष्ठावान र आदर्शवान नेतृत्वको रुपमा स्थापित हुनुहुन्छ । उहाँ गोरखाको कम्युनिस्ट आन्दोलनको संस्थापक नेता समेत हुनुहुन्छ ।