किबीका बिरुवा निःशुल्क वितरण

685
views

म्याग्दी । व्यावसायिक किबीखेती विस्तारका लागि बेनी नगरपालिका–३ भकिम्लीका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको छ ।

परीक्षणका रुपमा गरिएको किबीखेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालय– ३ ले ४२ घरधुरी कृषकलाई ८१५ कलमी गरिएका किबीका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिए ।

जिल्लाका छाप, भुकभुके, सीम, मुसुङ र डोलेका कृषकलाई प्रतिव्यक्ति ९ देखि १४५ सम्म किबीका बिरुवा वितरण गरिएको छ । सरकारी नर्सरीबाट प्रतिबिरुवा रु ११० मा चार सय र निजी नर्सरीबाट रु ३५० का दरले ४१५ गरी कुल ८१५ बिरुवा खरीद गरिएको थियो ।

सङ्घीय सरकारको एक व्यक्ति, एक बिरुवा कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले किबीखेती विस्तारका लागि रु तीन लाख बजेट विनियोजन गरेको थियो । लहरा प्रजातीको किबी समुद्री सतहदेखि एक हजार २०० देखि दुई हजार ५०० मिटर उचाइको भूगोलमा खेती गर्न सकिन्छ । व्यावसायिक महत्व बुझ्नुका साथै आम्दानीको राम्रो सम्भावना भएकाले किबी खेतीतर्फ म्याग्दीका कृषकको आकर्षण बढेको छ ।

बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने किबी प्रतिकिलो रु चार सयका दरले बिक्री हुने गरेको छ । स्वादिलो, धेरै पौष्टिक तत्ब पाइने र स्वस्थ्यकर मानिने किबीको मुख्य उपभोक्ता पर्यटक, विदेशमा रहेका र त्यहाँबाट फर्किएका नेपाली हुन् ।