पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि

659
views

काठमाडौँ,माघ २० नेपाल आयल निगमले शनिबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ ।

नयाँ कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले नियुक्त लिएपछि उपभोक्तामुखी निर्णय हुने अपेक्षा विपरित निगमले महिनामा २ अर्ब ३२ करोड रुपैयाँ नाफा राखेर मूल्य बढाएको हाे ।
मूल्य वृद्धिपछि आइतबार बिहानबाट पेट्राेल १ सय १० र डिजेल तथा मट्टितेल प्रतिलिटर समान ९७ रुपैयाँ पुग्ने भएकाे छ । आगामी १५ दिनमा निगमलाई नयाँ मूल्य सूची प्राप्त हुनेछ । नयाँ मूल्य सूची नआउन्जेलसम्म निगमले १५ दिनमा १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।
निगमले १५ दिनअघि भारतीय आयल कर्पोरेसन (आइओसी)बाट मूल्य बढेर आउँदा पनि नेपाली बजारमा समायोजन नगरेको तर्क गर्दै भाउ बढाएको बताएको छ । आइओसीबाट मूल्य बढेर आएकाले नेपाली बजारमा समायाेजन गरेको निगमको तर्क छ । शुक्रबार आइओसीबाट पेट्रोल २.२५ रुपैयाँ र डिजेल ४.२८ रुपैयाँ बढेर आएकाले नेपाली बजारमा प्रतिलिटर २–२ रुपैयाँका दरले बढाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमले अझै घाटा पूर्ती हुन बाँकी हुने पनि विज्ञप्तिमा जनाएको छ । महिना दिनदेखिको १ अर्ब ६ करोड रुपैयाँ घाटा पूर्ती गर्न अहिले भाउ बढाएको निगमले दाबी गरेको छ ।