काठमाडौं, २२ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेडले लिभरपुललाई बराबरीमा रोकेको छ । लण्डनस्थित वेष्टह्यामको मैदानमा भएको खेलमा १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिए । तर यसको ६ मिनेटपछि वेष्टह्यामका मिचेल एन्टोनियोले बराबरी गोल गरे । खेल १–१ गोलको बराबरीमा टुंग्याउदै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।
प्रिमियर लिग फुटबलमा २५ खेलबाट ६२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ५७ अंकका साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ ।
चौथो स्थानको चेल्सीको ५० अंक रहँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौ तथा ४७ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ ।