जनयुद्ध दिवसमा रातो मार्चपास

795
views

काठमाडौँ, २९, माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २०५२ सालमा जनयुद्ध सुरु गरेको स्मरणस्वरुप दिवस मनाउने भएको छ । दिवस मनाउन नेकपाका महासचिव विष्णु पौडेलले पार्टीका विभिन्न तहलाई सर्कुलर जारी गरेका छन् ।

यही फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदको सम्मानमा श्रद्धाञ्जली कार्यक्रमसहित दिवस मनाउने निर्णय भएको जनाइएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भएको छलफलमा पार्टीले यो दिवस मनाउने सहमति गरेको बताइएको छ । सातवटै प्रदेश तथा ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गरी दिवस मनाउन सर्कुलर जारी भएको छ ।

गत जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा एकीकरण भएपछि नेकपाले पहिलो पटक फागुन १ गते यो दिवस मनाउन लागेको हो । विसं. २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्धको घोषणा भएको दिनलाई दिवसको रुपमा मनाउँदै आइएको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरू गरेको २३ वर्ष पूरा भएको छ ।

२०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको सुरुआत भएको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भएका थिए । शान्ति प्रक्रिया धेरै अगाडि बढे पनि अझै केही काम बाँकी छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद पुनः थपिएको छ ।

जनयुद्धको नेतृत्वकर्ता ‘प्रचण्ड’ हाल नेकपाको अध्यक्ष हुनुहुन्छ । त्यस्तै, माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गर्नुभएको छ । सोही पार्टीबाट अलग भएर मोहन वैद्य किरणले नेकपा (क्रान्तिकारी माओवादी) गठन गर्नुभएको छ भने नेत्रविक्रम चन्द विप्लवले पनि माओवादीबाट अलग भएर नेकपा (माओवादी) पार्टी गठन गर्नुभएको छ ।

माओवादीबाट अलग भई क्रान्तिकारी माओवादी गठन गर्नुभएका वैद्य र विप्लव नेतृत्वको नेकपाले रत्नपार्क्स्थत शान्तिबाटिकामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने जानकारी दिएका छन् । गोपाल किराँतीले पुनर्गठन गरेको माओवादी केन्द्रले प्रज्ञा भवनमा कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कबटिी सदस्य सिपी गजुरेलले जनयुद्व दिवस मनाउने तयारी भईरहँदा जनयुद्व वर्तमान व्यवस्थाका लागि नलडिएको र क्रान्ति बाँकी रहेको बताएका छन् । सो पार्टीले देशैभर रातो मार्चपास देखी मेची महाकाली अभियानसम्मको तयारी गरेको छ ।

डा. भट्टराईले माओवादीबाट अलग भएर गठन गरेको नयाँ शक्ति नेपाल पार्टीले जनयुद्ध दिवस नमनाउने जनाइएको छ ।