नेकपाका नेताद्वारा प्रेमिकाको हत्या गरी कोसीमा फालेको खुलासा

913
views

नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले फागुन १७ गते शुक्रबारदेखि मोरङको बेलबारी नगरपालिका– ४ बाट हराएकी २६ वर्षीया रमिला राईको हत्या गरेर कोसीमा फालेको खुलासा भएको छ । राईको शवलाई गायव बनाउन हत्या गरी कोसी नदीमा फालेको गुरुङले प्रहरीसमक्ष वयान दिएपछि उनको हत्या भएको खुल्न आएको हो ।

गुरुङ फागुन १७ गते राईलाई लिएर विराटचौकस्थित हवाना रेस्टुरेन्टमा गएका थिए । उनीहरूका साथमा अन्य दुईजना पनि गएकोमा रेन्टुरेन्टबाट राति ११ बजेको आसपासमा घर फर्किएकोमा अन्य दुईजनालाई भने घरनजिकै गुरुङले छोडेका थिए । तर, रमिलालाई सँगै लिएर गएको बताइएको छ । पहिलेको श्रीमानसँग सम्बन्धविच्छेद गरेर माइतीमै बस्दै आएकी रमिला र गुरुङ केही समयदेखि सम्बन्धमा रहेको बताइन्छ ।

रमिला घरमा नआएको खबर शनिबार रमिलाकी बहिनीले गुरुङलाई गरेकी थिइन् । त्यसपछि गुरुङ पनि रमिलाको घरमा पुगेको र खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरीले अनुसन्धान गुरुङतिरै सोझ्याएपछि उनी एकाएक हराएका थिए । मोबाइल स्विच्डअफ गरेर इलाममा रहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेपछि उनले सोही रात राईलाई हत्या गरेर कोसीमा फालेको बताएका छन् । गुरुङको बयानका आधारमा दुई दिनदेखि प्रहरीले कोसीमा शवको खोजी गरे पनि फेला परेको छैन ।

गुरुङले हत्या एक्लै गरे वा कसैको सहयोग लिए त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही समयदेखि सम्बन्धमा रहेका उनीहरूबीचको सम्बन्धमा खटपट भएपछि राईको हत्या गरिएको प्रहरीको अनुमान छ ।

तत्कालीन नेकपा एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका गुरुङ नोबेल अस्पताल बेलबारीका अध्यक्ष पनि हुन् । उनी हाल एकीकृत नेकपाको अध्यक्ष बन्न प्रयासरत थिए ।