हिटलर शैलीमा ओली सरकार–गजुरेल

884
views

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले ओली र उनी नेतृत्वको सरकारले हिटलरको बाटो अपनाएको आरोप लगाएका छन् । पोखरामा सम्पन्न देजमो प्रदेश नं ४ को नवनिर्वाचित कार्यसमितिलाइ प्रशिक्षण दिदैं अध्यक्ष गजुरेलले अष्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता, विश्वका क्रुर शासक अडोल्फ हिटलरको ईतिहास वताउँदै वर्तमान ओली सरकारले सो नीति अख्तियार गरेको आरोप लगाए ।

अध्यक्ष गजुरेलले भने ‘पहिले भ्रष्टाचार लाखमा हुन्थ्यो, टेबुलमुनिबाट हुन्थ्यो, अहिले भ्रष्टाचार अरवमा छ त्यो पनि खुलोआम, त्यसको ज्वलन्त उदाहरण वाईडबडी खरिद र ३३ किलो सुन प्रकरण हो ।’ उनले यस्तो भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै त्यसमा स्वयं प्रधानमन्त्री ओली समेत जोडिने प्रष्ट्याए ।

अध्यक्ष गजुरेलले निर्मला हत्या प्रकरणको उजागर गर्दै भने ‘‘नेपालमा पनि प्रविधि छ, अनुसन्धान मजवुत छ, सरकारले हत्यारा पत्ता लगाउन सक्दैन, तर, प्रमाण नष्ट गर्नेलाई प्रोत्साहन दिएको छ भन्दै यस घटनामा मन्त्री हुँदै प्रधानमन्त्रीले समेत रक्षा गरिरहेको छ ।’’

गजुरेलले शिक्षामा माफियाकरण, प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालनको माग, यहि संविधानको धारा २७० विपरित विप्लव नेतृत्वको पार्टीलाई प्रतिवन्ध जस्ता विषय केलाउँदै प्रधानमन्त्री केपी शर्मा ओली ‘हिटलर’ बन्न खोजेको आरोप लगाए । उनले मर्दा कर, जन्मिदा कर, भैसी, गाईको पाडो जन्मिदा कर जस्ता विषयले जनताको ढाड सेकेको भन्दै ओली सरकारलाई अव सडकबाटै फालिदिने चेतावनी दिए ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सचिव परि थापाले ओली सरकार कम्युनिष्टको नाममा कलंक सरकार भएको आरोप लगाए । उनले संघीयता भनेको केन्द्रमा साझा शासन र प्रदेशमा स्वशासन हुने भन्दै अहिले अधिकार केन्द्रमै केन्द्रित गरेको आरोप लगाए ।

नेता थापाले काँग्रेस बलियो प्रतिपक्षि भएपनि लुलोपाडो जस्तै बनेको भन्दै प्रतिपक्षिको भुमिका सही नहुँदाको समेत ओली सरकारले फाईदा लिइरहेको बताए ।

थापाले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल वर्तमान व्यवस्थाका हिमायतिहरुको वैकल्पिक शक्ति भएकोले जनवादी व्यवस्थाका लागि संघर्ष गर्न जगदेखि नै तयारी गर्नुपर्ने बताए ।