काठमाडौं । साम्यवादी समाजको सपना देख्दै र देखाउदै गाउँ शहर जगाउँने अनि ‘मृत्यु वा मुक्ति’ को अन्तिम उद्देश्यमा प्रतिबद्ध क्रान्तिकारी शक्ति छिन्नभिन्न र नयाँ नयाँ अनुहारमा देखिनुलाई माक्र्सवादी सौन्दर्भ शास्त्रका अनुयायीहरुले विभिन्न तर्क दिने गरेका छन ।
मुलुकको आमुल पुर्न संरचना गर्ने र जनवादी अधिनायकत्वसहितको राज्य व्यवस्था स्थापना गर्दै विश्वसर्वहारा क्रान्तिको दिशामा अघि बढ्ने महान लक्ष्यसहित बलिदानीको इतिहास रच्दै उघि बढेको तत्कालिन नेकपा (माओवादी) का नेतृत्वकर्ताहरु वर्तमान भने अमिल्दो छ, फरक छ ।
माक्र्सवादी सौन्दर्य शास्त्रका अनुयायीहरुले हिजो क्रान्तिकारी भनिएका नेताहरुको विचलनलाई मुख्यतया दुई रुपमा तर्क गर्ने गरेको पाइन्छ । कतिपयले क्रान्तिकारी नीति, योजना, सिद्धान्त र वैचारिक अस्पष्टताका बिचबाट जनयुद्धमा होमिनु वा क्रान्तिको पूर्णतया तयारी नभएको अवस्थामा जनयुद्ध शुरु गरेको कारण जनयुद्धलाई अबसान गराइएको तर्क गर्ने गरेका छन ।
त्यस्तै कतिपयले सामन्तवाद तथा साम्राज्यवादी शक्ति केन्द्रहरुले केही नेताहरुलाई प्रलोभन वा प्रभावमा पारेर निष्कर्षमा पुग्न लागेको क्रान्तिप्रति गद्धारी गर्दै प्रतिक्रान्तिको बाटोमा हिडाएको कारण आजको परिस्थिति आएको तर्क गर्ने गरेको पाइन्छ ।
उनीहरुले क्रान्तिकारी पार्टी्भित्र सुधारवाद र संसदवादको अभ्यासका विषयमा नेताहरुले पछिल्लो पटक चरम गुटबन्दी बढाउदै क्रान्तिकारी आन्दोलनमा प्रतिबद्ध र इमान्दार नेताहरुलाई अन्तरघात गरी जेलमा राखेर शान्तिप्रकृयाको जालो बुनेको भन्दै त्यसलाई क्रान्ति, आन्दोलन, देश र जनताप्रतिको बेइमानी र धोकाका रुपमा व्याख्या गर्ने गरेका छन ।
तत्कालिन नेकपा (माओवादी) ले जनयुद्धको शुरुवातमा गरेको एक बैठकले देश, जनता र निरन्तर क्रान्तिको पक्षमा लिएको सात बुँदें निर्णय वा गरेको प्रतिवद्धता र सपथलाई हेर्दा भने पछिल्लो चरणमा क्रान्तिको प्रकृयामै प्रतिक्रान्तिकारीको घुसपैठले प्रभाव पारेको प्रष्ट देखिन्छ ।
तत्कालिन माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध शुरुगरेपछिको इतिहासमा केही समय संघर्षको लाईनमा नेतृत्वको एक रुपता देखिन्छ भने पछिल्ला समयहरुमा योजना चुहिएको, क्रान्तिभित्र प्रतिक्रान्तिकारी जन्मिएको र अन्तरघातका श्रृखलाहरु चरणबद्ध बढेको भन्ने देखिन्छ
अतः महान उद्देश्य बोकेर क्रान्तिमा होमिदा उक्त पार्टीले न्युनतम रुपमा अघि सारेको प्रतिबद्धतालाई नेताहरुले अन्तिमसम्म पुरा गर्न नसकेकाले आजको अवस्था आएको सिधा अर्थमा भन्न सकिन्छ । प्रतिबद्धता पुरा नगर्नु र वैचारिक विचलनताले त्यसमा काम गरेको भन्न सकिन्छ ।
तर आज पनि क्रान्तिकारी आशावाद जारी छ, कम्युनिस्ट आन्दोलनका महान नेता, एवं दार्शनिक मोहन बैद्य ‘किरण’ले त्यसको मूल नेतृत्व गरिरहेका छन भने विभिन्न समूहरु पार्टीहका नाममा क्रान्तिकारी आवाजहरु गुञ्जिरहेका छन, यसले भोलिको उज्जवल सम्भावना देखाएको क्रान्तिकारी नेताहरु बताउँछन । अतः तत्कालिन माओवादीले त्यतिबेला त्यस्तो के प्रतिबद्धता गरेको थियो त भन्ने विषयमा धेरैलाई कौतुहलता हुनसक्छ । हामीले उक्त सात बुँदें प्रतिबद्धाको पूणपाठ विभिन्न श्रोतहरुबाट संकलन गर्दै यहाँ प्रस्तुत गरेका छौं ।
नेकपा (माओवादी) ले २०५२ सालमा जनयुद्ध गर्दा गरेको प्रतिबद्धताहरु‘‘.
१) हाम्रो योजना माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घर्ने रणनीतिमा आधारित दिर्घकालिन जनयुद्धका रुपमा अघि बढ्ने छ । उक्त प्रकृयाको पहलकदमी, योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्धारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचलन हुने प्रतिज्ञा गर्दछ ।
२) जनयुद्धको थालनिको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ताँ कब्जा गर्नु नै सशस्त्र संघर्षको मुख्य उद्देश्य हो भन्ने कुरामा ढृण रहदै यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायत सबै विचलनवादी चिन्तन र प्रवृतिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
३) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पुरा गर्ने र त्यसको लगत्तै समाजवादी क्रान्तिको प्रकृयामा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानवजातिको स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने ढृणताबिना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारावर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी प्रतिबद्ध छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिकृयावादीलाई दवाव दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन कदापि बन्न दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पूँजिवादी संकीर्ण राष्ट्रवादी, धार्मिक साम्प्रदायिक एवं जातिवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहने छ ।
४) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अंग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्रा्ष्ट्रिय निर्माणको दिशामा अघिब बढिरहेको क्रान्तिकारी अन्तर्रा्ष्ट्रिय आन्दोलन (रिम, जसको पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग युर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
५) हाम्रो योना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकता अनुसार भित्री–पार्टी संघर्षलाई द्धन्द्धात्मक ढंगले ग्रहण गर्नु र त्यसलाई सञ्चालन गर्नु, पार्टीलाई त्यसरी सजिव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पुरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध राख्ने जनदिशाको सिद्धान्तमा अविचलन रहने कुरामा पार्टी कटिबद्ध रहने छ ।
६) हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र, आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्ने छ । पार्टीको योजनामा सामन्तवाद र साम्राव्ज्यवादविरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिने छ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी सशस्त्र संघर्ष श्रमजस्वी जनसमूदाय मुख्यतः गरीव किसानहरुमाथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं विदेशी प्रतिकृयावादी गुटहरुको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन ।
७) युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्ने छ । लेनिनको ‘क्रान्ति आफैले आफ्नो विकासक्रममा सधैं नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ’ भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ । जित र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराब कुरालाई असलमा रुपान्तर गर्ने अन्तरविरोधको नियमलाई ठीक ढंगले पक्रेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।