धनुषा । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय बालक हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए ।
बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।
आधा घाँटी काटेको अवस्थामा शव फेला परको राईले बताए । ‘हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौँ,’ प्रहरी निरीक्षक राईले भने, ‘घटनाको पूरा अनुसन्धान गरेपछि मात्रै थप भन्न सकिने अवस्था छ ।’
आर्यन सोमबार साँझ हरियो रङको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए। उनी खेल्न थालेपछि अभिभावक बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए ।
त्यहीबीचमा आर्यन बेपत्ता भएका थिए । बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए । बालक नभेटिएपछि अभिभावकले बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई गराएका थिए ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए । तर, बालक फेला परेका थिएनन् । खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको थियो । तर राती खोज्दा बालक फेला परेका थिएनन् ।
बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या गरिएको अनुमान प्रहरीले गरेको छ । अपहरणपश्चात हत्या किन र कसले ग¥यो भन्ने केही खुल्न सकेको छैन ।