(टेवान) को टोली ६ दिने भारत भ्रमण गरी स्वदेश फिर्ता

573
views

पोखरा, २७ वैशाख । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को टोली छिमेकी देश भारतका विभिन्न स्थानको ६ दिने अवलोकन भ्रमण गरेर पोखरा फर्किएको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक भारतको सिक्किम, दार्जलिङ्ग, ग्यान्टोङमा पुगेर त्यहाँस्थित पर्यटन सँग सम्वन्धित व्यक्ति तथा संस्था सँग अन्तक्रिया गर्नुका साथै पर्यटकीय स्थलहरुको अवलोकन गरेको हो ।

सिक्किम राज्य ग्रामीण पञ्चायती राज संस्थान ग्रामीण विकास विभागका निर्देशक विशाल राई सँगको अन्तक्रिया कार्यक्रममा बोल्दै टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले पर्यटन क्षेत्रमा महिलाको समान सहभागिता विना विकास सम्भव नभएको बताउनुभयो । उहाँले संस्थाले स्थापना कालदेखि नै पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै संस्थाको यो अन्तराष्ट्रिय भ्रमणबाट दुई देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै संस्थानका निर्देशक विशाल राईले ग्रामीण विकास राज्य संस्था भारतभरि कै उत्कृष्ट टेनिङ्ग इच्टिच्युट रहेको बताउनुभयो ।

राज्यको ग्रामीण क्षेत्रका नागरिकहरुका लागि विभिन्न विषय विकास कार्यक्रम, मानव संसाधन तयार गर्नुका साथै महिला, स्वास्थ्य, रोजगारी लगायतका विषयमा तालिम संचालन गर्दै आएको बताउनुभयो । तालिम कहिले इच्टिच्युट भित्र र कहिले बाहिर गाउँ पञ्चायतमा पुगरे सञ्चालन गर्ने गरेको समेत बताउनुभयो । उहाँले टेवान सँग भोलीका दिन सहकार्य गरेर दुईदेशका नागरिक विच पर्यटन प्रवद्र्धनात्मक तालिम तथा एक्पोजर भिजिटका कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संस्थानले वार्षिक करिव १८ हजार नागरिकलाई तालिम प्रदान गर्दै आएको छ । यसैविच टेवानले पेलिङमा रहेको चेरी भिलेज होमस्टेका संचालक शुशिल तामाङसँग पनि अन्तक्रिया गरेको छ ।

२० वर्ष अगाडी अति नै दयनिय अवस्था रहेको त्यस स्थानको अवस्था यतिबेला फेरिएको छ । ग्रामीण पर्यटनको सम्भावना रहेको भएपनि युवा जनशक्तिले यसलाई अझै बुझ्न नसकेको शुशिलको भनाई छ । यसरी गाउँमा नै होमस्टे संचालन गरेर अन्तराष्ट्रिय स्तरमा आफ्नो फरक पहिचान बनाउन सफल तामाङ्गले यस क्षेत्रमा अथाह सम्भावना देखेर आफु मात्र होइन धेरै युवालाई यस क्षेत्रमा लाग्न प्रेरित समेत गरेका छन् । सिक्किम भरि सरकारले ७ सय ५० वटा होमस्टे २ कोठा एटेच बाथरुम सहितको बनाएर निशुल्क रुपमा नागरिक दिएर प्रोत्साहन गरेको छ । गाउँमा होमस्टे संचालकले मात्र होइन कुखुरा पालक किसान, बाख्रा पालक किसान तथा खेतीपाती उव्जाउ गर्ने किसानले पनि आम्दानी गर्न सक्ने शुशिलको दाबी छ ।

नाफालाई बाँडफाँड गरियो भने मात्र टुरिष्टले गुणस्तरीय सेवा पाउँन सक्ने बताउँदै यसरी गरिएको होमस्टेले राज्यलाई समृद्ध बनाउन सकिने बताउनुभयो । कार्यक्रममा सहभागी टेवानका पदाधिकारी तथा सदस्यहरुले जिज्ञासा राख्नुभएको थियो । धेरैपटक नेपाल घुमी सक्नुभएका तामाङ्गले टुरिजममा नेपाल धेरै अगाडी रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका महासचिव तथा कार्यक्रम संयोजक कमला गिरीले छोटो समयमा गरिएको कार्यक्रममा महत्वपूर्ण समय दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै टोलीले सिक्किममा रहेको चारधाम लगायत विभिन्न स्थान र दार्जलिङको चिया बगानको अवलोकन पनि गरेको थियो ।