९ हजार नयाँ कर्मचारीका लागि विज्ञापन

807
views

काठमाडौं । स्थानीय तहमा भइरहेको कर्मचारी अभावलाई कम गर्न लोकसेवा आयोगले विभिन्न सेवा समूह तथा उपसमूहका लागि ९ हजार भन्दा बढी कर्मचारी भर्ना गर्न विज्ञापन खुलाएको छ ।

देशभरका ७५३ मध्ये ५५५ स्थानीय तहले १४ हजार ६ सय कर्मचारी माग गरेका छन् । आयोगले चौथो तहदेखि नवौं तहसम्म कर्मचारी भर्ना आह्वान गरेको हो । लोकसेवाले असार ३ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ ।

प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाइ प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने र सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिने गरी सेवाका सर्त र तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानुनबमोजिम हुने विज्ञापनमा उल्लेख गरिएको छ ।

डब्लुडब्लुडब्लु डट पीएससी डट जीओभी डट एनपी मा गएर उक्त विज्ञापन हेर्न सकिनेछ । सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः संघ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ ।