मोहन वैद्य ‘चैतन्य’लाई ‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान गरिंदै

1049
views

काडमाडौं । साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ मार्क्स्वादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘चैतन्य’ लाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सदन नेपालका सचिव मित्रलाल पंज्ञानीका अनुसार सदनले हृदयचन्द्र स्मृति सम्मान चैतन्यलाई र गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ आख्यानकार तथा कवि कविता पौडेललाई प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्य सदन नेपालले लिएको निर्णयमा सम्मानित हुने सौन्दर्य चिन्तक चैतन्यको योगदानको चर्चा गर्दै भनिएको छ– ‘राजनीतिक वृत्तमा ‘किरण’ उपनामले सुपरिचित मोहन वैद्य साहित्यमा ‘चैतन्य’ नामले चिनिनु हुन्छ । मार्क्सवादी कलासाहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा गम्भीर अध्येता तथा व्याख्याताका रूपमा स्थापित चैतन्य दर्शनका क्षेत्रमा पनि उत्तिकै प्रखर र गम्भीर चिन्तक हुनुहुन्छ ।

उहाँको ‘हिमाली दर्शन’ नामक कृतिले अघिल्लो वर्ष निकै चर्चा पाएको थियो । सौन्दर्यचिन्तन तथा समालोचनाका क्षेत्रमा हालसम्म उहाँका ‘मार्क्सवादी कलादृष्टि र समीक्षा’, ‘क्रान्ति र सौन्दर्य’, ‘समीक्षा र सौन्दर्य’ ‘मार्क्सवाद र संस्कृति’ र ‘मार्क्सवादी सौन्दर्य्चिन्तन’ तथा दर्शनका क्षेत्रमा ‘सङ्घर्षको दर्शन’ र ‘हिमाली दर्शन’ जस्ता कृतिहरू प्रकाशित छन् ।’

सम्मानित हुने अर्का प्रतिभा तथा श्रष्टा कविता पौडेलको जीवन र साहित्यिक योगदानका बारेमा भनिएको छ– ‘यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ वरिष्ठ आख्यानकार तथा कवि कविता पौडेललाई प्रदान गरिने भएको छ ।

सामाजिक जीवनमा पर्ने र परिआउने जुनसुकै काम महिलाले पनि पुरुषले जत्तिकै कुशलतापूर्वक सम्पन्न गर्न सक्छन् भन्ने मान्यता राखी हलो जोत्ने, मलाम जाने, घर छाउने तथा खसी काट्ने जस्ता कामहरू गरी समाजमा व्याप्त रुढिग्रस्ततालाई ठाडै हाँक दिने साहसी महिलाका रूपमा इतिहास बनाउनु भएकी कविता पौडेल नेपाली साहित्यमा आख्यानकार तथा कविका रूपमा सुपरिचित हुनुहुन्छ । सामाजिक जीवनका जल्दाबल्दा विषयमा कलम चलाउने उहाँका ‘काँडाघारीको यात्रा’ संस्मरण, ‘बाल चित्कार’, ‘छोरीको चिठी’, ‘हिरा’, ‘छाउपडी’ र ‘मुना’ उपन्यास र ‘नयाँ बिसाउनी’ खण्डकाव्य प्रकाशित छन् ।’