नेकपामा कार्यविभाजनको सकस

797
views

काठमाडौं, २३, जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठानिक एकता तथा जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको विषयमा भइरहेको सचिवालय छलफल बिहीबारसम्मका लागि स्थगित भएको छ ।

पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा जिल्ला इन्जार्ज र सह–इन्चार्ज बारे टुङ्गो लगाउन बुधबार नेकपा केन्द्रीय सचिवालयको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको बारेमा टुङ्गो लगाउन सकारात्मक रूपमा छलफल अगाडि बढेको छ ।

बैठकमा जिल्ला कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा सकारात्मक रूपले अगाडी बढेको छ । बैठकबाट जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको टुङ्गो लगाई बाँकी रहेका साङ्गठनिक एकता तथा कार्यविभाजनको विषयमा पनि छलफल हुने नारायणकाजी श्रेष्ठको भनाई छ ।

नेकपाका अध्यक्षद्वयले केही दिनदेखि गरेको गृहकार्यको आधारमा मङ्गलबारदेखि सचिवालयको बैठक शुरु भएको हो । लामो प्रयासपछि वैशाख ९ गते ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुङ्गो लगाइएको थियो । त्यसपछि इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल शुरु भएको थियो ।

जिल्ला कमिटीको इन्चार्ज तथा सहइन्चार्ज तोक्दा दोहोरो जिम्मेवारी दिने कि नदिने विषयमा नेताहरू बीचमा मत बाझिएपछि त्यसलाई टुङ्ग्याउन ढिलाइ भएको हो ।

केन्द्र तथा प्रदेशका सांसद र मन्त्री भएका व्यक्तिलाई इन्चार्ज र सहइन्चार्ज दिने कि नदिने विषयमा सचिवालय सदस्यहरूको बीचमा मत बाझिएको छ । यसअघि पनि प्रदेश कमिटी बनाउँदा सांसद मुख्यमन्त्री र मन्त्रीलाई पनि सो पदको जिम्मेवारी दिएपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । त्यो विवाद अझै कायमै छ ।

बैठकमा सहभागी सचिवालय एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले प्रदेशमा एउटा र जिल्लामा अर्को मापदण्ड प्रयोग गर्न नहुने भन्नुहुँदै प्रदेशकै मापदण्ड अनुसार जिल्ला कमिटीको टुङ्गो लगाउने प्रस्ताव गर्नुभयो तर त्यसमा सचिवालय सदस्य माधव नेपालले मान्नुभएको छैन । नेपालको प्रस्तावमा नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र वामदेव गौतमले समर्थन गर्नुभएको छ भने प्रधानमन्त्री ओलीको प्रस्तावमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य एवं रक्षामन्त्री इश्वर पोखरेलले समर्थन गर्नुभएको छ ।

यता यो विवादको विषयमा अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा मौन बस्नुभएको छ । दुई खालको प्रस्ताव आएपछि अध्यक्ष प्रचण्डले बीचको बाटो पहिल्याउनतिर लाग्नु भएको जनाइएको छ ।