प्रधानमन्त्री आज युरोप जाँदै

795
views

नवदृष्टि । १७ बर्षपछि नेपालबाट प्रधानमन्त्री स्तरको भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायत जाँदैछन् । स्विट्जरल्यान्डमा अन्तराष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी भई उनी सोमबार लन्डन पुग्ने कार्यक्रम छ । तीन दिनपछि प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम छ ।

प्रधानमन्त्री छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकको भ्रमणमा निस्कन लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले केही देशका समकक्षी र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। भट्टराई, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव र श्रम तथा रोजगार मन्त्रालयका सचिवलगायत करिब २२ जना सहभागी हुनेछन् ।

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध २ सय वर्ष पुरानो भइसक्दा पनि कुनै बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा गएका छैनन् । नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमणका लागि यो गलत समय हो । खास उपलब्धीको अपेक्षा गर्न सकिदैन् ‘ब्रेक्जिट प्रक्रिया गतिरोधमा फसेको बेला नेपालका प्रधानमन्त्रीको भ्रमण बेलायतकोे प्राथमिकतामा पर्न सक्दैन ।’

भ्रमणका क्रममा ब्रिटिस गोर्खा सैनिकका समस्या समाधान, दुई देशबीचको व्यापार तथा लगानी सम्बन्ध विस्तार, बेलायती सहयोग वृद्धिलगायत विषयमा नेपालले यो भ्रमणलाई सदुपयोग गर्नसक्ने देखिन्छ ।

नौ दिनको भ्रमण गरेर प्रधानमन्त्री ओली आउने असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।