प्रधानमन्त्री ओली पेरिसमा

608
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुगेका छन् ।

पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उनलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरे ।

प्रधानमन्त्री ओलीले बुधबार फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए ।

प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गर्नुभएको पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि छन् ।